अर्थतन्त्रलाई संभावित दुर्घटनाबाट जोगाउन आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीललाई भेटी अर्थतन्त्रलाई संभावित दुर्घटनाबाट बचाउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डलले लगातारको बन्द मुलुकको अर्थतन्त्रका लागि वैशाख १२ को भूकम्पभन्दा पनि विनासकारी भएको भन्दै अर्थतन्त्र कुनैपनि बेला गम्भीर संकटमा फस्न सक्नेतर्फ कोइरालाको ध्यानाकर्षण गरायो ।
अध्यक्ष मुरारकाले लगातारको बन्दबाट राज्यले निकै ठूलो आर्थिक नोक्सानी व्यहोरिरहेको, उद्योग कलकारखाना ठप्प रहेको, उद्योग व्यवसाय र उद्योग प्रतिष्ठानमा सुरक्षाको चुनौती बढ्दै गएको, निजी सम्पत्तिमाथि आक्रमण गरी क्षति पुर्याइएको बताए ।

उनले अन्तर्राष्ट्रबाट मगाइएको कच्चा पदार्थ नाकाहरुमा रोकिएर काम नलाग्ने भएको, आन्तरिक उत्पादनहरु बजारमा पुर्याउन नपाउँदा बजारमा उपभोग्य वस्तुको सामान अभाव रहेको भन्दै बन्दबाट आम जनताको न्यूनतम मानवअधिकार हनन् भएको बताए ।

आमजनताको दैनिक जीवनयापन नै अत्यन्त कष्टकर भएकाले तत्काल उद्योग व्यवसाय सुचार गर्ने वातावरण बनाइदिन व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

उद्योग व्यवसाय, प्रतिष्ठानमा आक्रमण गर्ने, त्यहाँ कार्यरत मजदुर कर्मचारीलाई वलजफ्ती निकाल्ने, कुट्ने, पेट्रोल वम प्रहान गर्ने, उद्योग प्रतिष्ठानको भौतिक सम्पतिमा क्षति पुर्याउने, सवारी साधन तोडफोड र आगजनी गर्ने, भन्सारमा सामान छुटाउन गएका व्यक्तिलाई धम्क्याउने जस्ता अत्यन्त अमानवीय काम भएको व्यवसायीले गुनासो गरेका थिए ।

अध्यक्ष मुरारकाले सरकारको तर्फबाट उचित शान्ति सुरक्षा दिन आग्रह गर्दै वार्ताको माध्यमबाट जतिसक्दो छिटो अन्योलता अन्त्य गरी संविधान घोषणा हुनुपर्ने निजी क्षेत्रको अडान रहेको बताए ।

आन्दोलनरत पक्षलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ता र सम्वादका माध्यमबाट छिटो संविधान घोषणा गर्ने अभियानमा संलग्न हुन र उद्योग व्यवसाय निर्वाध संचलनका लागि कुनै पनि अवरोध नगर्न आन्दोलनरत दलका नेतालाई भेटी आग्रह गरेको मुरारकाले जानकारी गराएका थिए ।

निरन्तरको बन्दबाट उद्योगी व्यवसायीले आफना कर्मचारी, मजदुरलाई दिनुपर्ने तलव ज्याला, सरकार र बैंक वित्तीय संस्थालाई बुझाउनुपर्ने कर राजस्व एवं ऋणको किस्ता तिर्न सक्ने अवस्था समेत नरहेको व्यवसायीले बताएका थिए । पूर्ण औद्योगिक सुरक्षासहित तत्काल उद्योग व्यवसाय सुचारु गर्ने वातावरण बनाइदिन उनीहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।   

प्रधानमन्त्रीले मुलुकको पछिल्लो अवस्थाप्रति आफूहरु पनि अत्यन्त चिन्तित रहेको र वार्ताको माध्यमबाट समस्या समाधान गर्न संविधानसभा दुई दिन स्थगन गरी वार्ताका लागि पहल भइरहेको बताए । उनले महासंघले यस बीचमा गरेका प्रयासबाट आफू पनि खुशी रहेको बताएका थिए । उद्योग व्यवसाय संचालन गर्न सरकारका तर्फबाट के कस्तो सहयोग गर्नुपर्ने हो, त्यसको तत्काल लिखित सुझाव पेश गर्न कोइरालाले सुझाव दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले महासंघलाई अनुरोध गर्दै निजी क्षेत्रको सुझावअनुसार सरकारले सुरक्षा सहितको उद्योग व्यवसाय चल्ने वातावरण बनाउने विश्वास दिलाए ।  

 

Advertisement

Advertisement

Advertisement