आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रम कानुन र सामाजिक सुरक्षा बर्षौंदेखि अन्योलमै

Advertisement

काठमाडौंः यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार नेपालसहित विश्वभर मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । 

उक्त आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्तत सफलतासमेत हासिल गर्यो । 

Advertisement

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । 

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । यद्यपि नेपालमा भने श्रमिकको अधिकार र सामाजिक सुरक्षाको विषय अझै पनि स्पष्ट हुन सकेको छैन । श्रम र सामाजिक सुरक्षासम्वन्धी कानुन निर्माणको तयारी भए पनि अझै त्यसलाई टुँगो लगाउन सरकार, मजदुर संगठन उदासिन रहँदै आएका छन् । 

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । हरेक बर्ष मजदुर संगठनदेखि दलहरुले यो दिन विभिन्न कार्यक्रम गरी मजदुरका पक्षमा बोल्ने गरे पनि भोलिपल्टदेखि बिर्सिने गरेका छन् । 

नेपालका मजदुर संगठन मजदुरका हितका लागि भन्दा पनि दलहरुको राजनीतिक फाइदाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले सभा र्यालीलगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

Advertisement

Advertisement