गोर्खाल्याण्ड आन्दोलनमा दमन जारी, फेरि एक नेपाली भाषीको गोली हानी हत्या

Advertisement

इलामः भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई दमन गर्ने क्रममा प्रहरीले फेरि गोली हानी एक नेपाली भाषीको हत्या गरेको छ । प्रहरीको गाली लागेर घाइते भएका ३६ वर्षे अशोक तामाङको उपचारक्रममा मंगलबार मृत्यु भएको हो ।

गोर्खाल्याण्ड आन्दोलन चर्किएसँगै आठ जनाको ज्यान लिइएको छ । आन्दोलन चर्किएसँगै पश्चिम बंगाल सरकारले नेपाली भाषीमाथि दमन जारी राखेको छ भने दूरसञ्चार सेवादेखि टेलिभिजन प्रसारणसमेत बन्द गरेको छ ।

गोर्खा जनमुक्ति मोर्चाकी प्रवक्ता विनीता रोकाका अनुसार सफल बन्दै गएको भन्दै जनताको स्वतस्फुर्त प्रदर्शनमा प्रहरी दमन हुँदा जनता थप आक्रोसित भएर सडकमा उत्रिएका छन् । यसअघि शनिबार भएको प्रहरी र ‘गोर्खाल्यान्ड’ समर्थकबीचको झडपमा प्रहरीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दास र रोपवेका समीर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो भने त्यसअघि शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो ।

उक्त हत्याका विरुद्ध दार्जिलिङमा ठूलठूला प्रदर्शन भएका छन् । गोर्खाल्यान्डकै माग राखेर प्रदर्शनमा उत्रिएका ३ जनाको गत १७ जुनमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। पश्चिम बंगाल सरकारले नेपाली भाषी स्कुलहरुमा बंगाली भाषा पनि अनिवार्य पढनुपर्ने नियत ल्याएपछि भडकिएको आन्दोलनले भारतको केन्द्रीय सरकारलाई समेत धक्का पुगेको छ ।

Advertisement

Advertisement

Advertisement