नेपालमा लगानीको बाताबरण बनेको एनआरएनको ठहर, शेष घलेले अब नेतृत्वबाट विश्राम लिने

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को जर्मनीको फ्रयाङफर्टमा क्षेत्रीय सम्मेलन सुरु भएको छ । सम्मेलनले नेपालमा लगानीको उपयुक्त बाताबरण बन्दै गएको भन्दै लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि लगानीको बाताबरणमा सुधार आएको सम्मेलनको ठहर छ ।

वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् ।

‘युरोपका नेपालीको एकताः समृद्ध नेपालको आवश्यकता’ नारासहित युरोपका २८ मुलुकस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि र अरू महाद्वीपका पर्यवेक्षक सहभागी शनिबारदेखि सुरु सम्मेलन आज सम्पन्न हुनेछ । सम्मेलनमा पाँचसयभन्दा बढी गैरआवासीय नेपाली सहभागी छन् ।

सोही सम्मेलनमा एनआरएनएका अध्यक्ष शेष घलेले आफ्नो कार्यकाल सकिएपछि आउँदो अक्टोबरबाट संघको संक्रिय नरहने घोषणा गरे । एनआरएनएको दुई कार्यकाल नेतृत्व गरेका घले अष्ट्रेलियाको धनाड्य सुचीका सफल व्यवसायी हुन । कार्यक्रममा उनले नेपाललाई संवृद्ध बनाएर एनआरएनको अभियान सफल पार्ने उपयुक्त समय आएको बताए ।

एनआरएनले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि छ सय घरहरुको नमुना बस्ती निर्माण गरिरहेको भन्दै घलेले आउँदो हिउँदको अन्तिमसम्ममा काम पूरा भई हस्तान्तरण भइसक्ने बताए । उनले एनआरएनले राजधानीको शंखमूलस्थित वाग्मती किनारमा बगैंचासहितको उद्यान निर्माणको काम सुरु गरेको पनि बताए ।

उद्घाटन कार्यक्रममा एनआरएनका अगुवाहरूले विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरूले हातेमालो गरेर आफनो मातृभूमिमा लगानी बढाउनु जरुरी रहेको भन्दै नेपालको आवश्यकता र नेपाली जनताको चाहनाअनुसार नेपालको विकासमा योगदान दिनुपर्ने बताएका थिए ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा लगानीको बाताबरण बन्दै गएको भन्दै अब सबै गैरआवासीय नेपाली मिलेर मुलुकलाई समृद्ध बनाउन योगदान दिनुपर्ने बताए ।

उनले नेपालबाट शिक्षा र स्वास्थ्यका नाममा सबभन्दा बढी पैसा बाहिरिइरहेकाले त्यसलाई रोक्न स्वदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताए । महतोले विदेशमा रहेका नेपाली कामदारहरूलाई एनआरएनको सदस्यता नदिनु गलत भएको भन्दै उनीहरुलाई सदस्यता दिन संघको विधान संशोधन गर्नुपर्ने बताए ।

एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले संघको मर्म र उद्देश्यअनुसार गैरआवासीय नेपालीहरुले आफ्नो सीप र ज्ञानअनुसार नयाँ नेपाल निर्माण अभियानमा लाग्नुपर्ने बताए । एनआरएनका संरक्षक रामप्रताप थापा, दिलबहादुर गुरुङ, जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले बोलेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement