तराईका सुख्खा क्षेत्रमा पम्पसेट वितरण गरिने कृषि विकास मन्त्रालयको निर्णय

Advertisement

काठमाडौंः कृषि विकास मन्त्रालयले तराईका आठ जिल्लामा राहतस्वरुप दुई हजार ट्युबवेल निर्माणसहित पम्पसेट वितरण गर्ने भएको छ । वितरण गरिन लागेको पम्पसेटको मूल्य रु ४० हजारदेखि रु ४५ हजार पर्छ । खरिदमा किसानले १५ प्रतिशत व्यहोर्नु पर्नेछ ।

कृषि विकास मन्त्रालयले पम्पसेटका लागि रु १४ करोड छुट्याएको छ । समयमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेपछि सिरहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रौतहटका लागि उक्त पम्पसेट वितरण गर्न लागेको मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा साउन १६ गतेसम्म सरदर ७० प्रतिशत रोपाइँ भएको छ ।

कृषि विकासमन्त्री रामकृष्ण यादवले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा हालसम्म यथोचित रुपमा धान रोपाइँ हुन नसकेकाले किसानलाई राहतस्वरुप पम्पसेट वितरण गर्न लागिएको बताए ।

मन्त्रालयले सिँचाइ सुविधा उपलब्ध गराउन नसकेका साना सिँचाइ, कुलो र नहर तत्काल मर्मतका लागि रु ३९ लाखको लागतमा २६ वटा आयोजना सञ्चालन गर्ने तथा वैकल्पिक खेती प्रणालीअन्तर्गत उन्नत छरुवा धानको जात (बीउ) वितरण गर्ने योजना अघि सारेको छ ।

खाद्यसुरक्षामा टेवा पुर्याउने उद्देश्यले मौसमी तथा बेमौसमी तरकारी खेती विस्तारका लागि रु २४ लाख १२ हजारको बीउसेट, मास, बोडी, तेलहन, गहँु, मुसुरो, मकैलगायत बीउ वितरणका लागि रु २० लाख विनियोजन गरेको छ । धान रोप्न योग्य कूल १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमध्ये साउन १६ गतेसम्म मुलुकभर ११ लाख ९५ हजार ८०४ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

तीन लाख ५६ हजार ६५८ हेक्टर जमिन रोपाइँका लागि तयार भए पनि वर्षा नभएका कारण बाँझो छ । कूल ग्रार्हस्थ्य उत्पानदनमा धानको योगदान १२ प्रतिशत छ भने कूल कृषि क्षेत्रको उत्पादनमा धानको योगदान २१ प्रतिशत छ । कृषि क्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादन भने ३३ प्रतिशत रहेको छ ।

मुलुकभर औपचारिक रुपमा धान रोपाइँ सुरु भएको ३८ दिन पुग्दा ७३.५२ प्रतिशत मात्र रोपाइँ भएको छ । मन्त्रालयले असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका झौँखेलबाट ‘दुईबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ अभियानका साथ १४औँ राष्ट्रिय धान दिवस सुरु गरेको थियो ।

कृषि विकास मन्त्रालयका प्रवक्ता एवम् सहसचिव योगेन्द्रकुमार कार्कीले आर्थिक वर्ष २०७३÷७४ मा १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको बताउनुभयो । नेपालमा चैतेधान, वर्षेधान र घैयाधानको खेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) तल झर्छ ।

कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढाएको छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ । सरकारले किसानलाई बृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हँुदा रु ५० हजार, चैते, मसिनो र बास्नादार धान उत्पादनमा रु पाँच हजार अनुदान दिने नीति लिएको छ । अहिलेसम्म यहाँ ८१ प्रकारका धानका जातको खेती हुँदै आएको छ ।

नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धान खेती हुने ठाउँ नेपालको जुम्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । नेपालमा धान उत्पादन सरदर प्रतिहेक्टर तीन हजार कलिो रहेको छ ।

Advertisement

Advertisement

Advertisement