प्रधानमन्त्री देउवा, ओली र प्रचण्डद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

Advertisement

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा केसीको अनशनको विषयमा चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो । अनशनको २१औं दिनमा रहेका केसीको स्वास्थ्य स्थिति जटिल मोडमा पुगेको बेला उनीहरुको आग्रह आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उनको मागको भावना अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने समझदारी बनाएको हो ।

बैठकले डा केसीले माग गरेअनुसार संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा केसीले उठाएका कतिपय जायज मागअनुसार अघि बढाउने समझदारी गरेको छ । संसद्लाई बाहिरको दबाबबाट नभई जायज मागलाई सम्बोधन गरेर अघि बढाउनेबारे बैठकमा सहमति भएको छ ।

त्यसक्रममा देउवाले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरेअनुसार नै अघि बढाउँदा चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि हुनुका साथै सुधार हुने धारणा राखेका थिए ।  बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी केन्द्र अध्यक्ष दाहाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा भगवान् कोइराला, सांसद गगन थापा र समितिका सभापति रञ्जु झा र उक्त समितिका सदस्य सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement