चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली आज आउँदै, सुस्मालाई नभेटेका ओलीले याङलाई भेट्ने

Advertisement

काठमाडौंः चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारको निमन्त्रणामा उनी चार दिवसीय औपचारिक भ्रमणमा आउन लाउन लागेका हुन ।

याङले आगामी बुधबार राष्ट्रपति विद्या भण्डारीसँग र सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने क्रार्यक्रम छ । चिनियाँ टोली । स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारबीच आगामी मंगलबार द्विपक्षीय वार्ता हुनेछ ।

मंगलबार नै याङले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्ने, बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवाले सत्ताको नेतृत्व गरेपछि चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । उनी भारत भ्रमणमा जान हतारिएको बेला याङको अकस्मात नेपाल भ्रमणले कतिपयले अर्थपूर्ण लिएका छन् । परराष्ट्रका प्रवक्ता भरत पौड्यालले चीनबाट हुन लागेको यो भ्रमणको ठूलो महत्व रहेको बताए ।

उनले योे भ्रमण नेपालको पुनर्निर्माण र विकासमा केन्द्रित हुने बताए । पौड्यालले नेपालको सामाजिक एवं आर्थिक विकासका लागि आगामी दिनमा चीनबाट ‘एक क्षेत्र एक मार्ग’ (ओबिओआर) को दायराअन्तर्गत हुने जानकारी दिँदै द्विपक्षीय वार्तामा चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन तथा भविष्यमा अझ प्रभावकारी ढंगले सबै सन्धि सम्झौतालाई व्यवहारमा रुपान्तरण गर्नेबारेमा विचार विमर्श हुने बताए ।

चिनियाँ प्रतिनिधिमण्डलमा राज्य र सहायकमन्त्री चारजनासहित विभिन्न मन्त्रालय र विभागका उच्च अधिकारी रहने छन् । चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई नभेटेका एमाले अध्यक्ष केपी ओलीले याङसँग भेट गर्ने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि छुट्टै भेट गर्नेछन । याङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन । उनी प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीका अतिरिक्त कृषि, जल व्यवस्थापन, वाणिज्य, पर्यटन र गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन् ।

उनलाई चीनमा सुधारवादी नेताका रुपमा मात्र नभई विकासको ‘ग्वाङडोङ’ ढाँचाको प्रवर्तक मानिन्छ । निजी उद्यमशीलता, आर्थिक विकास र नागरिक समाजको बृहत्तर भूमिकाबाटै उक्त ढाँचा सफल भएको बताइएको छ । पाकिस्तानको भ्रमण पूरा गरी चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

Advertisement

Advertisement

Advertisement