विनियमविपरितका सरुवा बदर नगरे विरोधमा उत्रिने आधिकारिक युनियनको निर्णय

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनले निर्वाचन आचारसंहित छल्ने नाममा प्राधिकरणको कर्मचारी सेवा, शर्त विनियमावलीविपरित कर्मचारीहरुको सरुवा गरेकोप्रति आपत्ति जनाएको छ ।

प्रदेश नम्बर २ मा निर्वाचन आचार संहिता लागू भएपछि स्थानीय निकायलाई प्रभाव पार्नेगरी साउन महिनाको मिति राखेर भदौको पहिलो साता जनकपुर क्षेत्रीय कार्यालय तथा सो अन्तर्गतका कर्मचारीहरुको व्यापक सरुवा गरिएको, सरुवा गर्दा राजनीतिक आस्थाका आधारमा गरिएको भन्दै आधिकारिक युनियनले यसलाई सच्याउन चेतावनी दिएको छ ।

युनियनका अध्यक्ष जनार्दन भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणको कर्मचारी प्रशासन निर्देशानलयबाट दुई बर्ष अवधि नपुगेका कार्यालय प्रमुखहरुको सरुवा विनियम विपरित तथा कार्यसम्पादन मूल्यांकनभन्दा राजनीतिक आस्थालाई मुख्य आधार बनाइएको ठहर यस कर्मचारी संघ आधिकारिक युनियनले गरेको छ ।’

उर्जामन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा उनले पठाएको लिष्टकै आधारमा कर्मचारीहरुको सरुवा गरिएको प्राधिकरणका विभिन्न ट्रेड युनियनका नेताहरुले बताउँदै आएका छन् । त्यसरी सरुवा गर्दा २ नम्बर प्रदेशअन्तर्गतका कर्मचारीको साउन ३२ गतेको मिति राखिएको छ भने बाँकीको भदौ १ र त्यसपछिको मिति राखिएको छ ।

यसरी सरुवा गर्दा एउटै कार्यालयमा कनिष्ठ कार्यालय प्रमुख रहेको ठाउँमा सोही पदको वरिष्ठ कर्मचारीलाई सरुवा गरिएको, कर्मचारीको सरुवालाई नियमत प्रक्रिया नभनी सजाय हो भन्ने ढंगले प्रचार गरिएको भन्दै युनियनले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विगतमा पनि सरुवा गर्दा विद्युत चोरको संज्ञा दिएर कर्मचारीहरुको मानमर्दन गर्ने गरिएको युनियनले स्मरण गरेको छ । यसअघिका उर्जामन्त्री जनार्दन शर्माले विद्युत चोरीको जालो भत्काउन भन्दै कर्मचारीको व्यापक सरुवा गरेका थिए ।

त्यसैगरी, कर्मचारी विनियमावलीअनुसार २१ दिनभित्र रमाना लिने व्यवास्थाको ठाडो उल्लङघन गरी भदौ ७ गते कर्मचारी प्रशासन निर्देशनालयबाट सरुवा तथा जिम्मेवारी तोकिएका सबै कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुनेगरी अनिवार्यरुपमा रमाना दिने काम गर्नु गैरकानुनी भएको आधिकारिक युनियनको भनाई छ ।

विनियमविपरित कर्मचारी सरुवा गर्ने दिन सञ्चालक समितिको बैठकमा आधिकारिक युनियनको अध्यक्षलाई आमन्त्रण नगरिएकोप्रति अध्यक्ष भट्टराईले आश्चर्य पनि प्रकट गरेका छन् । उनले विज्ञप्तिमा कुनै पनि संस्थाले कर्मचारी र संस्थाको हितविपरित काम नगरोस भनेर आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व सञ्चालक समितिमा गराउन सरकारले नै निर्णय गरेको स्मरण गराउँदै तर पछिल्लो सरुवाको दिन विनियमविपरित निर्णय गर्न आफूलाई नबोलाएर गलत परम्पराको थालनी गरिएको उल्लेख गरेका छन् ।

युनियनले विनियमविपरितका सबै सरुवा तत्काल बदर गर्न आग्रह गर्दै नगरे विरोधका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ ।

Advertisement

Advertisement

Advertisement