विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिना र उरुग्वे बराबरीमा

Advertisement

एजेन्सीः अर्जेन्टिना र उरुग्वेले फिफा विश्वकप २०१८ को छनोट चरणको खेलमा गोलरहित बराबरी खेलेका छन् । अंक बाँडेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न दुवै टोलीलाई अब १ अंक आवश्यक छ ।

उरुग्वेको घरेलु मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो हाफमा उरुग्वेले राम्रो प्रदर्शन गरेपनि दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्‍यो । बार्सिलोनाका फरवार्ड लुइस सुआरेज उरुग्वेली टोलिको पहिलो रोजाइमा खेलेका थिए । तर खेल सकिन आठ मिनेट बाँकी हुँदा उनी चोट बोक्दै मैदान बाहिरिए ।

पछिल्लो ५ खेलमा पनि जित हासिल गर्ननसकेपनि उरुग्वे २४ अंकसहित तेस्रो स्थानमा छ भने अर्जेन्टिना २३ अंकसहित पाँचौ स्थानमा छ ।

छनोटको अर्को खेलमा चिलीविरुद्ध पराग्वेले ३-० को जित निकाल्यो । अर्जेन्टिना र चिलीको समान २३ अंक भए पनि गोलअन्तरका आधारमा चिली चौथो स्थानमा छ । २५ अंकसहित दोस्रो स्थानमा रहेको कोलोम्बियाले पुछारको भेनेजुएलासँग गोलरहीत बराबरी खेल्यो ।

शीर्ष ४ स्थानमा रहने टोलीले स्वत विश्वकपमा छनोट हुनेछ भने पाँचौ स्थानमा रहने टोलीले ओसिनियाको टोलीसँग प्लेअफ खेल्नेछ ।

Advertisement

Advertisement

Advertisement