उपचार खर्च तिर्न नसकेर छटपटाइरहेको दम्पत्तिलाई बि एण्ड सी अस्पताले गर्यो सहयोग

Advertisement

बिर्तामोडः उपचार खर्च अभावमा २१ दिनसम्म अस्पतालको शैयामै सुतेकी झापा अर्जुनधारा ९ कालिस्थानकी सम्झना सुनुवारको उपचारको सम्पूर्ण खर्च बिर्तामोडको बिएन्डसी अस्पतालले दिएको छ।

पाठेघरको शल्यक्रियापछि चिकित्सकले सम्झनालाई घर लैजान भने पनि अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा २० दिनसम्म बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालकै बेडमा सुतिरहेकी उनको उपचार खर्चवापतको रकम बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सम्झनाका पति पोस्टबहादुर दिगर्चालाई शुक्रबार प्रदान गरे।

सम्झनाको पाठेघरमा पलाएको चार केजीको ऐंजेरुको मनमोहन अस्पतालमा शल्यक्रियापछि रकम अभावका कारण उनलाई अस्पतालबाट घर लैजान नसकिएको प्रसाईंले अघि सारेर सहयोग गरेका हुन । उनको शल्यक्रिया, अस्पताल खर्च तथा औषधि गरी जम्मा ९८ हजार पाँच सय २७ रुपैयाँ बिएन्डसी अस्पतालले प्रदान गरेको हो ।

उपचार खर्च पाएपछि सम्झना अस्पतालबाट डिस्चार्ज भएकी छन् । प्रसाईंले उपचार पनि भएर विरामीलाई घर लैजान नसकिनु दुःखद विषय हो भन्दै मानवीय हिसावले आफूले सहयोग गरेको बताए ।

सम्झनाका पति पोस्टबहादुरले बिएन्डसी अस्पतालले आफूमाथि परेको दुःखमा ठूलो राहत प्रदान गरेको भन्दै मनमोहन अस्पतालमा उपचार गर्दा दिनहुँ पैसा जोगाड गर्न हिँड्दा पनि केही उपाय नलागेको अनुभव सुनाए । अस्पतालले सात दिनअघि नै घर जान मिल्छ भने पनि पैसा अभावकै कारण जान नसकिएको भन्दै उनले श्रीमतीको स्वास्थ्यमा कुनै समस्या नरहेको र सुधार हुँदै गएको बताए ।

Advertisement

Advertisement

Advertisement