स्पेनबाट छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी, स्पेन भन्छः निर्वाचन अवैध छ

Advertisement

बार्सेलोनाः स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन् ।

क्याटालोनियाका नेता चाल्र्स पुजमोनले आफूहरुले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको पछिल्लो समाचारमा उल्लेख गरिएको छ । खसेको मतमध्येमा करिब ९० प्रतिशतले स्पेनबाट अलग्गिनुपर्ने पक्षमा मत दिएका क्याटालोनिया सरकारको दाबी छ ।

सोमबार बार्सिलोनामा सम्बोधन गर्दै क्षेत्रीय सरकारका प्रमुख कारलस पूजमोनले सो दाबी गरेका हुन । उनले क्याटालोनियाली जनताले आफ्नो अलग्गै राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए ।

पूजमोनले सो जनमत संग्रहको नतिजा कानून निर्माणका लागि अब संसद्लाई पठाइने पनि जानकारी दिए । उनले सो मतमाथि कानून बमोजिम काम होस् भनी आग्रह पनि गरे ।

तर सो जनमत संग्रहलाई स्पेन सरकारले भने मान्यता दिएको छैन । जम्मा ४० प्रतिशतमात्र मत खसेको निर्वाचनलाई वैध नमान्ने सरकारले जनाएको छ ।

आइतबार पनि स्पेनको प्रहरीले मतदान केन्द्रलाई नियन्त्रणमा लिई मतदान गर्न दिएको थिएन । त्यस क्रममा पनि भिडन्त भएको बताइएको थियो ।

Advertisement

Advertisement

Advertisement