'मैले धेरैलाई सहयोग गर्दै आएँ, अब ओसियानाको नेतृत्व गर्ने पालो मेरो हो'

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा ओसियाना संयोजकका लागि दावेदारी प्रस्तुत गरेका अष्ट्रेलियाका पदमलाल (प्रेम) सापकोटाले ओसियानाको नेतृत्व गर्ने पालो आफ्नो भएको बताएका छन् ।

उनले कर्पोरेट नेपालसँगको कुराकानीमा साथीहरुलाई नेतृत्वमा अघि बढाउन धेरै सहयोग र त्याग गर्दै आएको उदाहरण दिँदै यस पटक भने ओसियाना संयोजकका लागि दावी प्रस्तुत गरेको बताए ।

प्रेमले भने, धेरै साथीले विगतमा इच्छा देखाउनुभयो । सहयोगको लागि आग्रह गर्नुभयो । मैले उहाँहरुलाई इमान्दारितापूर्वक सहयोग गरें । यस पटक मैले उहाँहरु सबैको सहयोग पाउने विश्वाससहित उम्मेदवारी घोषणा गरेको छु । संयोजकका लागि दावी गर्न मैले प्रवासी नेपालीहरुको हितका लागि धेरै काम पनि गरेको छु । योगदान गरेको छु ।

करिब तीन दशकदेखि प्रवासमा बस्दै आएका प्रेम प्रवासी नेपालीहरुको दुःख, पीडा र समस्याका बारेमा आफू जानकार रहेको र संगठनमा रहँदा तथा नरहँदा आफूले इमान्दारितापूर्वक उनीहरुको समस्या समाधानका लागि सक्दो काम गर्दै आएको बताउँछन् ।

उनी एनएडीएफ र एनपीसीसीएमा लामो समयदेखि सक्रिय र नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षकसमेत छन् । सन् २०११ मा एनआरएनए अष्ट्रेलियाको वरिष्ठ उपाध्यक्ष रहेका प्रेमले एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा दुई पटक उमेदवारी दिएपनि सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

पदको लोभ नगरेको, बाहिर बसेर पनि गैरआवासीय नेपाली संघको अभियानलाई सफल बनाउन, प्रवासी नेपालीहरुको पीडालाई सम्बोधन गर्न खेलेको भूमिकाको सबैले पक्कै मूल्यांकन गर्ने उनको विश्वास छ ।

वरिष्ठ उपाध्यक्ष हुँदा पहिलो पटक स्थापना गरिएको सोसियल वेलफेयर फण्डमा करिब डेड करोड रुपियाँको अक्षय कोष निर्माणमा आफ्नो मूख्य भूमिका रहेको भन्दै उनले संघको भवन निर्माणका लागि सहयोग संकलन गर्ने, भूकम्प पीडित, बाढिपीडितका लागि राहत गर्ने, नेपालका विद्यालयहरु निर्माण गर्ने जस्ता क्रियाकलापमा आफू जहिल्यै सक्रिय रहेको बताए ।

प्रेमलगायत गैरआवासीय नेपालीहरुले नेपालमा शैक्षिक क्षेत्रमा लगानी समेत गरेका छन् । उनीहरुले नेपालमा हस्पिटालिटी (आथित्यता) क्षेत्रमा गुणस्तरीय जनशक्ति विकासका लागि कलेज सञ्चालन गरेका छन् ।

अष्ट्रेलियाबाट करिब १७५ र न्यूजिलेण्डबाट करिब ३५ जना प्रतिनिधिहरुले मतदान गर्न पाउने ओसियाना संयोजक पदमा आफ्नो पक्षमा सर्वसम्मतीको संभावना रहेको भन्दै प्रेमले चुनाव नै भए पनि आफू भारी मतले विजयी हुने बताए । उनी रेष्टुरेण्ट व्यवसायी हुन । हाल सिड्नीमा उनको इटलियन र नेपाली रेष्टुरेण्टहरु छन ।

Advertisement

Advertisement

Advertisement