मध्यपूर्वका एनआरएनए उम्मेदवारहरु भन्छन– पहिलो प्राथमिकता कामदारहरुको हित

Advertisement

काठमाडौंः मध्यपूर्वका गैरआवासीय नेपाली संघ (एनआरएनए)का उम्मेदवारहरुले मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्न र मध्यपूर्वको लगानी स्वदेशमा भित्र्याउन पहल गर्नु नै आफूहरुका साझा मुद्दा भएको बनाएका छन् ।

एनआरएनएको आठौं अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन नजिकिरहेको बेला काठमाडौंमा भेला भएका उनीहरुले कामदारको हक हितका विषयलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा एनआरएनए मध्यपूर्व संयोजक तथा सचिव पदका प्रत्यासी डिवी क्षेत्रीले मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए ।

उनले भने– ‘मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अब समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।’

एनआरएनए मध्यपूर्वका संयोजकका उम्मेदवार तथा एनआरएनए आइसीसी सदस्य राजेन्द्र (आरके) शर्माले मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि प्याकेजमा योजना बनाएर नै काम गर्ने बताए । मध्यपूर्वमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउनका लागि र त्यस क्षेत्रको लगानी स्वदेश भित्र्याउन विशेष पहल गर्ने बताए ।

उनले कतारमा धेरै नेपालीले सरकारले तोके अनुसार तलव नपाउनुमा नेपाल सरकारसमेत जिम्मेवार भएको बताए । शर्माले भने– ‘सरकारले कतारमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक लागु गर्यो, तर कार्यान्वयनतर्फ ध्यान जान सकेन ।’

कार्यक्रममा मध्यपुर्व उपसंयोजकका उम्मेदवार प्रविन गुरुङले लामो समयदेखि आफू सामाजिक कार्यमा क्रियाशील हुँदै आएको र अझ संगठनमा बसेर धेरै काम गर्नका लागि मध्यपूर्वबाट उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने– ‘विदेशमा सिकेको सीप र पुँजीलाई एनआरएनए अभियानमा लगाउन र एनआरएनलाई मध्यपूर्वमा सबैको बनाउनका लागि मेरो उम्मेदवारी हो ।’

कार्यक्रममा पूर्व मध्यपूर्व संयोजक तथा उपाध्यक्ष पदका उम्मेदवार नरेन्द्र भाटले मध्यपूर्वका समस्या नेपालबाट नै सुरु हुने भएकाले नेपालमा नै बिशेष ध्यान दिन जरुरी गरेको बताए ।

अधिकांश नेपालीहरु वैदेशिक रोजगारमा रहेको मध्यपूर्वबाट पाँच सयभन्दा बढि एनआरएनहरु विश्व सम्मेलनमा भाग लिन आउँदै छन् । मध्यपूर्वका धेरै मतदाता भएकाले अहिले विश्वका एनआरएनहरुले मध्यपूर्वलाई आफ्नो पक्षमा लिन खोजिरहेको भएता पनि मध्यपूर्व आफै सबै पदमा नेतृत्व लिन कस्सिरहेको छ ।

Advertisement

Advertisement

Advertisement