पटका विक्री-वितरणप्रती प्रहरी निर्मम: राजधानीबाट पाँच हजार थान पटका बरामद

Advertisement

काठमाडौँ: महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ ।

नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी बढाएको हो । परिसरले आज पत्रकार सम्मेलन गरी गोँगबु, गौशाला, असन, थानकोट, कालीमाटी, कोटेश्वर, बानेश्वर, कमलपोखरी, महाराजगञ्जलगायत क्षेत्रबाट चार हजार ९३३ थान पटाका बरामद गरेको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रवक्ता रामदत्त जोशीले जनसेवाबाट १६, लैनचौरबाट दुई, सिंहदरबार एक, स्वयम्भूबाट एक, कालिमाटीबाट दुई, गौशालाबाट एक, कोटेश्वरबाट एक, कपनबाट एक र गोँगबुबाट दुई पोका पटाका बरामद गरेको जानकारी दिए । “ठूलो परिणाममा पटाका कारोबार गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएका छौँ,”–उनले भने।

बरामद गरिएका पटकामा झिरझिरे, सुतली, माल टावर, रोल क्याप्स, रकेट, मेषा डिल्कस, मल्टा वारुद, रिंग क्याप, खुर्सानी पटकालगायत रहेको परिसरले जनाएको छ । बरामद गरिएको पटकालाई परिसरमा पानी हालेर नष्ट गरिएको छ ।

यसैगरी परिसरले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बत्तीसपुतलीको अग्र्यानिक चुलो रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु ११ लाख ५५ हजार ८४१ नगदसहित मंगलबार पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement