डा केसी र सरकारबीच सहमती: अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक पास गरिने

Advertisement

काठमाडौं: अनसनको १४ औं दिनमा आएर डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग १० बुँदे सहमतिपछि आफ्नो १३ औं अनसन बुधवार टुंग्याएका छन् ।

सरकारी वार्ता टोलीले डा.केसीसँग चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्नेलगायतका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

१० वर्षीय बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर डा. केसीले अनसन तोडेका हुन् ।

सरकारी टोलीसँग १० बुँदे सहमतिमा हस्ताक्षर गरेलगत्तै डा. केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको थियो । प्रधानमन्त्रीसँग डा. केसीले आज गरिएको सहमति ६ गतेभित्र कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

सहमति हुनुअघि पनि प्रधानमन्त्री देउवाले डा. केसीलाई टेलिफोनमार्फत अनसन अन्त्य गर्न आग्रह गरेका थिए ।

सरकार र डा. केसीबीच भएको सहमति पत्रमा अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक पास गर्ने, आईओएमको शूल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको मेडिकल शिक्षासम्बन्धी अनियमितताको अध्ययन गरी दोषीलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिंदा जनसंख्या, भूगोललगायतका तत्वलाई आधार मान्नेलगायत बिषय छन् ।

डा. केसीले चिकित्सा शिक्षा विधेयक माग गरी १३ औं अनसन सुरु गरेपनि माग पूरा नगरी संसद सकिएको थियो ।

सरकारले संसद नभए पनि अध्यादेशबाट विधेयक पास गरी डा. केसीको माग पूरा गर्ने सहमति जनाएको हो ।

चुनावपछि बन्ने नयाँ संसदले उक्त अध्यादेश पास गर्नुपर्ने हुन्छ ।

 

Advertisement

Advertisement

Advertisement