खेलकुदको विकासका लागि एनआरएनए र एनओसीबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलाम्पिक कमिटी(एनओसी)  र गैरआवासिय नेपाली संघ (एनआरएनए)बीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनए अध्यक्ष शेष घलेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको  ओलम्पिक अभियानको साझेदारका रुपमा गैरआवासिय नेपाली संघ रहने छ ।  सो अवसरमा एनआएरएनए स्थापना दिवस अक्टोबर ११ तारिकका दिन ओलाम्पीक कमिटीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिइएको छ ।

Advertisement

यसैगरी, संघले क्षमतावान निश्चित खेलाडीको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिश्पर्धामा आवश्यक सामग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली  र ओलाम्पिक खेलकुद प्रतिश्पर्धामा सहभागी खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पुर्वाधार निर्माणका लागि दाता तथा बहुर्राष्ट्रिय कम्पनीको खोजी गर्ने  सहमती भएको छ ।

संघका अध्यक्ष घलेले एनओसीसंगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीचको सम्बन्ध सुमधुर बनाउने अपेक्षा राखेको बताए । उनले नेपाली खेलाडीले क्षमता नभएरभन्दा उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धी हासिल गर्न नसकेको भन्दै संसारभर  छरिएर रहेका दोस्रो पुस्ताका एनआएरएन खेलकुदमार्फत् नेपालीसँग जोडिन उत्सुक रहेको बताए ।

अध्यक्ष घलेले नेपालको खेल क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो तर्फबाट आर्थिक, भौतिक पुर्वाधार विकास आदिमा योगदान दिने उद्देश्यका साथ सम्झौता गरिएको बताए ।

ओलाम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एनआएरएनएको सहयोगले नेपाली खेलाडीलाई ढाडस दिने भन्दै लक्ष्य प्राप्तिमा सहयोग मिल्ने बताए । खेल क्षेत्रमार्फत राष्ट्रको शिर उचो बनाउने आफूहरुको अभियानमा गैरआवासीय नेपाली संघले साथ दिएकोले आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने उनले बताए ।

अध्यक्ष श्रेष्ठले एनआरएनएसँगको सहकार्यले संसारभर रहेका नेपालीबीच सौहार्दता बढाउनुका साथै सांस्कृतिक आदानप्रदानमा समेत योगदान पुग्ने  बताए । नेपालीलाई एकताको सुत्रमा बाँध्ने एक मात्र क्षेत्र खेलकुद रहेको उनको भनाई छ । कार्यक्रममा अध्यक्ष शेष घलेलाई नेपाल ओलाम्पीक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो । 

Advertisement

Advertisement