बजार अनुगमन जनयुद्धकै शैलीमा अघि बढाउँछौंः मन्त्री गणेशमान

Advertisement

काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तीब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन । 

रिपोर्टर्स क्लबमा शनिबार उनले भने,‘राजधानीमा चलाइएको साताव्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तरहीन र अखाद्य बस्तु बिक्री वितरण भइरहेको फेला परेकोले मन्त्रालयले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य सुरु गर्छ ।’

Advertisement

पुनले थपे, ‘यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।’ उनले आगामि आर्थिक बर्षबाट उपभोक्ता हित संरक्षण र बजार अनुगमन अभियान थाल्ने स्पष्ट पार्दै मन्त्रालय अहिले कारवाहीमा देखिएको फितलो कानुन र अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या हल गरेर एकीकृत अनुगमन अभियान थाल्ने योजनामा सक्रिय रहेको जानकारी दिए । 

मन्त्री पुनले राजधानीमा एक सातासम्म गरिएको अनुगमन अभियानपछि पनि त्यसको पुनः निरीक्षण गरेर उपयुक्त बातावरण तयार नगरेसम्म सञ्चालन गर्न नदिने चेतावनी दिदै बजार अनुगमन र कारवाही चानचुने ढंगले नहुने भएकोले यसलाई सबै मन्त्रालय र निकायहरु मिलेर एकीकृत रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए । 

मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकोले समान्य भईसकेको भन्दै राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए । 
उनले बजारमा देखिएको बेथिति, अनुगमन र कारवाही जनयुद्ध लड्नु जत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाए । यो कार्य कठिन भएकोले अब बजार अनुगमनलाई जनयुद्ध जस्तै अघि बढाउने पुनको भनाई थियो । 

उनले भने, ‘कुनै पनि कामको दुई आयाम हुन्छ । जनयुद्ध जटिल थियो । बजार अनुगमन पनि जटिल छ । यो नै जनयुद्ध हो ।’ मन्त्री पुनले आफ्नो कार्यशैलीलाई लिएर पार्टीभित्र फिर्ता बोलाउने विषयमा कुनै छलफल नभएको दावी गर्दै काम गर्ने क्रममा कहिले काही पर्फमेन्स तलमाथि हुनु स्वभाविक रहेको तर्क गरे । 

Advertisement

Advertisement