‘निजी बैंकले ब्याजदर बढाए भन्दैमा हामी बढाउँदैनौं’

Advertisement

सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक पुँजी र सञ्जालका हिसावले मुलुकको ठूलो बैंकमा पर्दछ । आफ्नो वित्तीय स्थिति सुधार गरे निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै अघि बढेको यो बैंकले पनि चाँडै जना सर्वसाधारण जनतालाई समेत सेयर दिने तयारीमा छ् । चालु आर्थिक बर्षमा तीन अर्ब रुपियाँ नाफा गर्ने दौडमा रहेका यस बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्पोरेट नेपाल डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा दिएको अन्तवार्ताको सार प्रस्तुत छः 

  • राष्ट्रिय बाणिव्य बैंकको वित्तीय अवस्था अहिले कस्तो रहेको छ ? 

Advertisement

राम्रो र सुदृढ अवस्था छ । निक्षेप एक खर्ब ३८ अर्ब रुपियाँ रहेको छ । कर्जा ८६ अर्ब रुपियाँ छ । गत बर्षको नाफा हेर्ने हो भने दुई अर्ब ६५ करोड रुपियाँ रहेको छ । अहिले नै ६८ जिल्लामा १७१ शाखाहरु रहेको छ । खराब कर्जाको अनुपात पनि तीन प्रतिशतभन्दा कममा ल्याउने स्थिति बनेको छ । 

  • चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा अल्लि घटेको देखियो । तपाईंहरु तीन अर्ब नाफा गर्ने लक्ष्यमा हुनुहुन्छ । लक्ष्य पूरा हुन्छ त ? 

तीन अर्ब नौ करोड रुपियाँको मुनाफाको लक्ष्य हो । यो लक्ष्य पूरा हुन्छ भन्ने आत्मविश्वास र योजनाका साथ अघि बढेका छौं । तपाईंले सही भन्नुभयो । पहिलो त्रैमासिकको नाफा घटेको भनेर । यसको दुई तीन वटा कारण छन् । गत बर्ष भूकम्प पछाडि कात्तिक महिनाको पनि मुनाफालाई तान्ने अवस्थाले गर्दा केही ओभरल्यापिङ भयो । यो बर्ष तीन महिनाको मात्रै मुनाफा हो । यही अवधिमा हामीले १२ अर्ब कर्जा बढाएका छौं । यता कर्मचारी खर्च, ब्याज खर्च, सञ्चालन खर्च घटेको छ । अहिले हामीले ब्याजदरमा पनि थोरै परिमार्जन गरी घटाएका छौं । केही अनुत्पादक क्षेत्रका कर्जाहरु छन्, तयसलाई निरुत्साहित गरी व्यापारिक कर्जामा जोड दिएको हुनाले मुनाफामा कमीको स्थिति देखिएको हो ।

  • तपाईंसँग नेपाल बैंकमा काम गरेको लामो अनुभव छ । उक्त बैंक पनि वित्तीय संकटमा परेर सुधार भएको बैंक हो । त्यो अनुभवका कारणमा राष्ट्रिय बाणिज्य बैंकमा के के सुधार गर्छु वा परिवर्तन गर्छु भन्ने योजना बनाउनु भएको छ ? 

हिजोका दिनमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक दुवै समस्याग्रस्त बैंक हुन । वित्तीय क्षेत्र सुधार कार्यक्रम आएपछि यसमा निकै सुधार आयो । अहिले जुन स्थितिमा आइपुगेका छौं, यसमा निके ठूलो फड्को मारेको स्थिति छ । अघि मैले जुन तथ्याङ्कहरु भने, त्यसको आधारमा राष्ट्रिय बाणिज्य बैंक नेपालको सबैभन्दा ठूलोमध्येमा र राम्रो मध्येमा पर्दछ । अझै पनि हामीले हाम्रो स्रोत साधनहरुलाई परिचालन गर्ने कुरामा कमी कमजोरी रहेको छ । त्यसमा सुधार गरेर बैंकलाई एउटा प्रतिस्पर्धी र स्वस्थ बैंक बनाउने कुरामा मेरो ध्यान जान्छ । 

  • सरकारी बैंकहरुले विगतमा वित्तीय अनुशासन पालन गर्न सकेनन् वा कुशल व्यवस्थापन गर्न सकेनन् । कुन चाँही प्रमुख कारण हो ? 

मेरो आफ्नो अनुभवमा संस्थागत सुशासन नहुनु नै प्रमुख कारण हो । व्यवस्थापनले संस्थागत सुशासन राम्रो बनाउन सकेन । एउटा संस्थाको कामकारवाहीलाई कसरी व्यवस्थापन गर्ने, कसरी कुशल व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने भन्ने कुरा माथिल्लो व्यवस्थापनबाट हुन सकेन । बैंकहरु बढदो प्रतिस्पर्धा, आधुनिक प्रविधिको प्रयोग गर्ने कुराहरु हुन सकेन । 

  • तपाईंहरु आइपिओमा जाने (साधारण सेयर जारी गर्ने) कुरा थियो । के हुँदैछ यसमा ? 

सरकारले विगतमा राष्ट्यि बाणिज्य बैंकको आठ अर्ब ५८ करोड सेयरको ३० प्रतिशत डाइमेन्शन गर्ने भनेर निर्णय गरेको छ । त्यो निर्णयपछि अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, राष्ट्रिय बाणिज्य बैंक सम्मिलन एउटा कार्यदल बनाएर कुन मोडालिटीमा कसरी जाने ? भनेर कामहरु भइरहेको छ । कुन मोडालिटी भन्ने कुरा निश्चित भएको छैन । भर्खरै सरकारले यसलाई गति दिन पहल पनि गरेको छ । 

  • अहिले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका कुराहरु उठिरहेका छन् । यसमा राष्ट्र बैंकले जोड पनि दिएको छ । तपाईंहरुले यसमा के गर्दै हुनुहुन्छ ? 

प्रासङ्गिक कुरा हो । यही मात्रै पनि हामीलाई अर्थमन्त्रीले विशेष निर्देशन दिनुभएको छ उहाँसँग छलफल हुँदा । हाम्रो जस्तो देश जहाँ ४० प्रतिशत मात्रै बैकिङ पहुँच भएको छ । धेरै जनता ग्रामीण क्षेत्रमा छन् । त्यो क्षेत्रमा वित्तीय संस्थाहरुको उपस्थिति र सेवाहरु नबढनु भनेको विरोधाभास भइरहेको छ । जुन यो, वित्तीय साक्षरता र समावेशीकरणका कुरा छन्, यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा सिद्धान्त त सबै सहमत नै छन् । तर पनि हामी सरकार बैंक, पूर्ण सरकारी भएकोले यो कुरामा हामी यसपाली विशेष कार्ययोजना बनाएर अगाडि बढिरहेका छौं । आउँदो असारभित्र वित्तीय साक्षरता कार्यक्रम वृहतरुपमा विशेषगरी पिछडिएको क्षेत्रमा कसरी लैजाने र कति संख्यामा लैजाने भनेर कार्ययोजना नै तयार गरेका छौं । हामीले हाम्रो शाखा सञ्जाल विस्तार गरेर ती ठाउँमा पुग्ने, शाखा पुग्न नसकेका ठाउँमा पनि शाखारहीत बैंकिङ सेवामार्फत सेवा पुर्याउने योजना छ । 

  • तपाईंहरु भन्नुहुन्छ निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थितिमा छौं । यो कुरामा तपाईंहरुको कर्मचारी युनियन कत्तिको सहयोगी बन्ने गरेको छ ? कि पछाडि तानिरहेको छ ? 

निश्चितरुपमा हामी सरकारी बैंक भए पनि प्रतिस्पर्धामा जानुपर्ने बाध्यता छ । प्रतिस्पर्धामा नगईकन हामीले ग्राहकहरु आकर्षण गर्न सक्दैनौं । ग्राहकहरुले पनि सेवाको स्तर, ब्याजदरको स्थितिमा प्रतिस्पर्धा मागेको हुन्छ । त्यो कारण पन हामी प्रतिस्पर्धी हुनैपर्ने स्थिति छ । अरु बैंकको तुलनामा हाम्रोमा भिन्न परिस्थिति भनेको के भने यहाँ ट्रेड युनियनहरु छन् । यो कुरालाई कानुनीरुपले नै व्यवस्था गरिसकेपछि हामीले सहजरुपले नै लिनुपर्छ । कतिपय कुराहरुमा हाम्रो र युनियनबीच मतभिन्नताहरु छन् । कतिपयमा छलफल पनि चलिरहेका छन् । तर पनि बैंकलाई अगाडि बढाउने कुरामा उनीहरुबाट सहयोगी भूमिका नै पाएका छौं । 

  • सरकारी बैंक भएकाकोले तपाईंहरुको र अर्थमन्त्रालयको पनि तालमेल मिलिरहनुपर्छ । यहाँ अर्थमन्त्रीहरु छ–छ महिनामा फेरिन्छन् । फेरिनासाथै उनीहरुको लक्ष्य र चाहना पनि फरक हुने भए । राष्ट्र बैंकको निर्देशन पनि पालन गर्नैपर्यो । यी कुराको तालमेल कसरी मिलाउनु भएको छ ? 

राष्ट्रिय बाणिज्य बैंक सरकारी बैंक भएकोले सरकारका नीति निर्देशनअनुसार अगाडि जानुपर्ने हुन्छ । हामीले कुन सरकार, कुन पार्टीको, कुन व्यक्तिको भन्दा पनि सरकारले कुन नीति लिइरहेको छ ? कसरी अगाडि बढने भन्ने निर्देशन मै हामी अगाडि बढछौं । त्यस्तो हामीलाई कुनै अप्ठ्यारो छैन् । मैले आफूले पनि अध्ययन गर्दा जुन सरकार आए पनि आर्थिक विकासको कुरा र बैंकिङ तथा वित्तीय क्षेत्र प्रवद्र्धनको कुरामा लगभग समाज खालको दृष्टिकोण र समाज नीति हुन्छ । केही कुराको प्राथमिकतामा मात्रै तलमाथि परेको छ । त्यस्तो धेरै र निकै फरक खालको नीति छैन । 

  • निजी क्षेत्रका बैंकहरुले ब्याजदर बढाइरहेका छन् । ब्याजदर बढाउन तपाईंहरुका केही अप्ठ्यारा पनि होलान । तपाईंहरुको तयारी के छ ? 

निजी बैंकहरुले ब्याजदरमा परिवर्तन गरेको हामीले अध्ययन गरिरहेका छौं । हाम्रो हकमा अहिले नै त्यसरी ब्याजदर बढाएर जानुपर्ने स्थितिहरु देखेका छैनौं । हामी त्यो पक्षमा पनि अहिले छैनौं । खाली हामी अध्ययनको क्रममा छौं । स्थितिहरु हेरिरहेका छौं । यद्यपि हाम्रो जुन खालको निक्षेपको स्थिति छ, जुन खालको हाम्रो ब्रान्चको फैलावट छ, यसले ब्याजदर बढाउने कुरामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर जान सक्दैनौं । त्यसमाथि हामीले ब्याजदरमा अझै सस्तो पनि गरेका छौं । त्यो हाम्रो सबल पक्ष हो । 

थप कुराकानी भिडियोमा हेर्नुहोला

Advertisement

Advertisement