यसअघि काम गर्नै नपाई हटाइएका डा. पोखरेल पुर्ननिर्माण प्राधिकरणको सिइओमा पुनः नियुक्त

Advertisement

काठमाडौंः यसअघि नियुक्त भएर पनि काम गर्न नपाई हटाइएका डा. गोविन्द पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नियुक्त गरिएको छ । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सरकारले प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गरी डा. पोखरेललाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष रहेका उनलाई सुशील कोइराला नेतृत्वको सरकारले सिइओ नियुक्ति गरे पनि पुनर्निर्माण विद्येयक पास नभइसकेका कारण उनको नियुक्तिले पूर्णता पाउन सकेको थिएन । 

Advertisement

पछि एमाले नेतृत्वको सरकारले विद्येयक आएपछि उनको नियुक्तिलाई पूर्णता नदिई  आफ्नो पार्टी निकटका ज्ञवालीलाई नियुक्त गरेको थियो । प्युठान रस्पुरकोट निवासी पोखरेल काँग्रेस निकटका हुन । उनी आयोगको उपाध्यक्ष हुनुअघि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक थिए । 

सरकारले प्राधिकरणका कार्यकारी समितिका सदस्यहरुलाई भने यथावत् राखेको छ । सरकार फेरिएसँगै सीईओ हटाउन सत्तारुढ कांग्रेसले दबाब दिँदै आएको थियो । हटाइएका ज्ञवालीले भने सरकारले नै असहयोग गरेका कारण आफूले काम गर्न नसकेको भन्दै स्पष्टिकरणको जवाफ दिएका थिए । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले उनको जवाफ चित्तबुझ्दो नभएकोले हटाएको बताए । 

पुनर्निर्माणसम्बन्धी ऐन २०७२ अनुसार सीईओलाई हटाउनुपूर्व सफाइको मौका दिनुपर्नेछ । ‘प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा सरकारले निजलाई जुनसुकै बेला हटाउन सक्ने छ,’ ऐनको दफा ११ भनिएको छ ।’ 

Advertisement

Advertisement