ब्रिटिस साम्राज्यका लागि ज्यान गुमाएका ६० हजारको सम्झनामा विशाल 'गोरखा स्मारक पार्क' बनाइने

Advertisement

काठमाडौंः गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायसी साम्राज्यका लागि विभिन्न क्षेत्रीय युद्धहरुमा आफ्नो जीवन गुमाएका ६० हजार भन्दा बढि गोरखा सैनिकहरुको सम्झनामा गोरखा स्मारक पार्क निर्माण लागि सहयोग गर्न संसद र सरकारसँग माग गरेको छ । 

सभामुख र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गेसोले ६० हजारभन्दा बढि गोरखा सैनिकहरुप्रति समर्पित श्रद्धाञ्जली सम्पदा र विश्वशान्ति तथा न्यायको प्रतिकको रुपमा रहने छ । विदेशी भूमिमा ज्यान गुमाएका पितापूर्खाहरुको आत्माको शान्तिका लागि यस्तो स्मारकको परिकल्पना गरिएको हो । 

Advertisement

यस्तो पार्कमा नेपालका १९ विभिन्न जातजातिका ६० हजार भन्दा बढी शान्तिवाहक गोरखा सैनिकहरूको मृतात्मा राखिएको विश्वकै अद्वितीय स्मारक हुनेछ । गोरखा स्मारक पार्क नेपालको एकमात्र ठूलो स्मारक हुनेछ । यसले गोरखालीहरूको स्वाभिमान र नेपालीको गौरवलाई प्रतिनिधित्व गर्नेेछ । 

यसले आम मानव समुदायलाई गोरखा सैनिकबारे आधिकारिक सुचना र उनीहरूको वास्तविक जिन्दगीबारे जानकारी गराउने छ । गोरखा स्मारक पार्कले गोरखाली संस्कृति, परम्परागत ज्ञान, उनीहरूको जीविकोपार्जन, र मनोरम प्राकृतिक तथा सांस्कृतिक दृश्यावलोकन र गोरखालीहरूको जीवनबारे अध्ययन अवलोकन र विश्लेषण गर्ने मौका प्रदान गर्ने गेसोको ज्ञापनपत्रमा उल्लेख छ । 

गोरखा स्मारक पार्कले पर्यटनमा आधारित स्थानीय तथा देशको आर्थिक विकासमा टेवा पु¥याउने भन्दै गेसोले गोरखा स्मारक निर्माणमा सरकारको तर्फबाट सहयोग गर्न अनुरोध गरेको छ । सरकार तयार भए यसको विस्तृत योजना पेश गर्न आफू तयार रहेको संघले जनाएको छ । 

पहिलो विश्वयुद्ध लगायतका अनेकौं युद्धहरूमा मारिएका गोरखा सैनिकहरुको सम्मान र सम्झनामा गेसोले स्याङ्जाको फेदीखोला–८ साल्मेडाँडामा गोरखा स्मारक बनाइरहेको छ । यद्यपि बेलायत सरकारले सम्बन्धित परिवारलाई मारिएको वा बेपत्ता भएको बारे कुनै खबर अझै नदिएको गेसोको भनाई छ । 

खबर नपाएपछि काजकिरिया गर्न नमिलेको, हाम्रा विशिष्ट सामाजिक मान्यता र विश्वासअनुसार मरेका वा मारिएकाहरूलाई आफ्ना जातीय संस्कार अनुसारको काजकिरिया गरिएन भने उनीहरूको आत्मा काँचो वायुको रुपमा भौंतारिरहेको हुने र आफ्नो परिवार र समाजलाई पिरोलिरहने गोरखा भूपू सैनिकहरुको भनाई छ । 
काँचो वायुको रुपमा भौंतारिरहेका आत्मालाई स्वदेशी भूमिमा नै बोलाएर स्वर्ग तार्ने उद्देश्यले गेसोको नेतृत्वमा २०६९ साल मंसिर ५ गतेदेखि तीन दिनसम्म विशेष संस्कार गरिएको थियो । त्यसमा १९ जातका धर्मगुरु र १९ जातकै कन्याहरूले आ—आफ्नो जातीय संस्कार र विधिविधान अनुरुप काजकिरिया गरिएको थियो । 

धर्मगुरुहरूले सामुहिकरुपमा विदेशी भूमिमा भौंतारिरहेका आत्मालाई स्वदेशी भूमिमा ल्याएर स्वर्ग तारेको घोषणा गर्नुका साथै यस भूमिलाई विश्व शान्तिको निमित्त युद्ध लड्दा जीवन बलिदान गरेका गोरखाहरूको पवित्र तीर्थस्थल भनी घोषणा गरेका थिए । 

पितापुर्खाको सम्मानको लागि भन्दै उक्त स्थललाई गोरखा स्मारक पार्कको रुपमा परिकल्पना गरिएको हो । सो स्थलको हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शिलान्यास गरेका थिए । विश्वभरि जहाँजहाँ गोरखा सैनिकहरु मारिएका थिए, जहाँजहाँ उनीहरुले युद्ध लडे, जहाँजहाँ उनीहरुका सामूहिक चिहानहरु छन्, ती ठाउँहरुबाट एकएक मुठी माटो अस्तुको प्रतिकको रुपमा ल्याएर राखिने गेसोको भनाई छ । 

यो स्मारक विश्वको महत्वपूर्ण र आकर्षक नमुना स्मारक बन्ने भन्दै गेसोले यसलाई एसियाको ‘इपर’ घोषणा गर्ने बताएको छ । यसमा हरेक वर्ष विश्वभरका हजारौं पर्यटकहरु आउने र नेपाललाई ठूलो आर्थिक लाभ हुने, सयौं युवाहरुले स्वदेशमै रोजगारीको अवसर मिल्ने बताइएको छ । 

Advertisement

Advertisement