गोर्खाल्याण्डको आन्दोलन कमजोर बनाउन दार्जिलिङको विखण्डन

Advertisement

काठमाडौंः दशकौंदेखि भारतका नेपाली भाषीहरुले गोर्खाल्याण्डको आन्दोलनको आन्दोलन अघि बढिरहेको बेला भारतको पश्चिम बंगाल सरकारले दार्जिलिङबाट छुट्टाएर कालिम्पोङलाई छुट्टै जिल्ला बनाएको छ । 

दार्जिलिङ जिल्लाभित्र रहेको  ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो । बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले यसलाई जिल्ला घोषणा गरेकी हुन । 

Advertisement

गोर्खाल्याण्ड आन्दोलनका अगुवाहरुले भने यसलाई आन्दोलन कमजोर बनाउने षडयन्त्रको संज्ञा दिएका छन् । वेनर्जीले एक बर्ष अघि नै कालिम्पोङलाई अलग गर्ने बताएकी थिइन । नयाँ जिल्ला घोषणासभामा उनले कालिम्पोङको खानेपानी समस्या सुल्झाउन ५० करोड रुपियाँ प्रदान गर्ने घोषणा पनि गरिन् ।

उनले गोर्खाल्याण्ड अलग राज्यको माग असफल पार्न नेपाली भाषीबीच ‘फुटाउ र राज गर’को नीति अपनाउँदै आएकी छन् । त्यसका लागि वेनर्जीले एकदर्जनभन्दा बढि जातीय बोर्ड नै गठन गर्नुका साथै गोर्खाल्याण्ड आन्दोलनका नेताहरुलाई फुटाउने काम गर्दै आएकी छन् । 

दार्जिलिङबाट कालिम्पोङ पनि अलग्याएपछि गोर्खाल्याण्ड आन्दोलन थप कमजोर भन्दै गोर्खा जनमुक्ति मोर्चाका नेताहरुले यसबाट दार्जिलिङको क्षेत्रफल साँघुरिएको बताएका छन् । 

कालिम्पोङ सन् १७०० सम्म सिक्किमको एक भाग रहेकोमा १८औं शताब्दीको प्रारम्भतिर भुटानले युद्धमार्फत् यसलाई कब्जा गरेको थियो । एङ्लो–भुटान युद्धपछि सन् १८८५ मा यसलाई दार्जिलिङमा गाभिएको थियो । अहिले फेरि कालिम्पोङ पुनः दार्जिलिङबाट अलग्गिएको छ । 

गोजमुमोले सिंगो दार्जिलिङ जिल्लासहित तराईको सिलिगुडी र टिष्टापारिको डुबर्सलाई गोर्खाल्यान्डको मानचित्रमा अटाउनुपर्ने माग गर्दै आएका छन् । बहुसंख्यक नेपालीभाषी क्षेत्र कालिम्पोङ पनि दार्जिलिङबाट अलग्गिएपछि गोर्खाल्याण्ड माग कमजोर बन्ने मोर्चाका नेताहरुको चिन्ता छ । 

तस्बिर स्रोतः हिमालय दर्पण

Advertisement

Advertisement