जापानका प्रवासी नेपालीले अब नेपाली उत्पादन प्रयोग गर्ने

Advertisement

काठमाडौंः नेपाली उत्पादन जापानमा प्रवर्द्धन गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानबीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीसँग संघले त्यस्तो प्रतिवद्धता गरेको हो । 

मन्त्री जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवर्द्धन, प्रचार–प्रसारका साथै जापानमा रहेका नेपालीहरुले नेपाली उत्पादन नै प्रयोग गर्न लिखित सम्झौता भएको हो ।

Advertisement

सम्झौता कार्यक्रममा नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट सहभागी थिए । 

मन्त्री जोशीले प्रवासी नेपालीले विदेशी भन्दा नेपाली सामग्रीलाई प्रयोगमा ल्याउन सके नेपालका उधोगधन्दाको विकास र रोजगारी बढाउन सहयोग पुग्ने बताए । उनले एनआरएनए जापानले नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको प्रतिवद्धता सकारात्मक रहेको बताए। 

एनआरएनए उपाध्यक्ष भट्टले नेपालको पर्यटन प्रवद्र्धन र नेपाली उत्पादनलाई विदेशमा भित्र्याउन आफूहरु सक्दो लाग्ने भन्दै यसमा सरकारले पनि चासो र सहयोग बढाउनुपर्ने बताए । 

टोकियोमा आयोजित अर्को कार्यक्रम (एनआरएनए जापानले आयोजना गरेको ‘नेपालको औद्यौगिक विकास र उत्पादन प्रर्वधनमा गैरआवासीय नेपालीहरूको भूमिका’ विषयक अन्तक्रिया)मा मन्त्री जोशीले सरकार स्वदेशी र विदेशी लगानी भित्राउन प्रतिवद्ध रहेको भन्दै त्यसका लागि लगानीको बाताबरण र उत्पादनको बजार संभावना हेर्न अध्ययन सुरु भइसकेको बताए  । 

उनले विदेशमा बसेर अनलाइनमार्फत नेपालमा उद्योग खोल्न, लगानी गर्न सकिने डिजिटल प्रणालीको तयारी अन्तिम अवस्थामा पुगेको बताउँदै लगानीको बाताबरण निर्माणका लागि कानुनी सुधार तथा प्रक्रियागत झन्झट हटाउने काम भइरहेको बताए  । 

जापानका लागि नेपाली कार्यवाहक राजदूत अर्यालले नेपालको कानुन स्पष्ट नहुँदा र विदेशमा गलत प्रचार हुँदा  जापानी लगानी  बढन नसकेको भन्दै दूतावासले लगानी भित्र्याउन भूमिका खेल्दै आएको बताए । 

त्यसैगरी, उधोगमन्त्री जोशी र जापानको सत्तारूढ़ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरो तथा वातावरण राज्यमन्त्री इतो तादाहीबीच पनि टोकियमा भेटवार्ता भएको छ । 

दुवै भेटमा नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनबारे  छलफल भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । जापानी नेताहरूले नेपालमा बाताबरणमैत्री औद्योगिकीकरणमा सघाउन तयार रहेको बताएका थिए । उनीहरुले त्यसका लागि जापानी प्रभुद्ध बर्गमार्फ़त सहयोग अगाडी बडाउने प्रतिबद्धता जनाएका थिए । 

नेपालमा फोहरमैला व्यवस्थापन जडिवुटीजन्य उद्योग र वातावरणमैत्री उद्योग स्थापनामा लगानी गर्न आफूहरु इच्छुक रहेको जापानी नेताहरुको भनाई थियो । उनीहरुले भूकम्प पछिको नेपालको पुर्ननिर्माणमा समेत थप सहयोग गर्न चासो देखाएका थिए । 

मन्त्री जोशीको आग्रहअनुसार यही फागुण १९ र २० गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा जापानकातर्फबाट सहभागिता जनाउने जापानी मन्त्रीहरुले प्रतिवद्धता जनाएको जनाइएको छ । 

Advertisement

Advertisement