प्रकोप व्यवस्थापन विज्ञहरुले अष्ट्रेलियामा भने- नेपालमा भूकम्पीय जोखिम टरेको छैन

Advertisement

व्रिसवेन (अष्ट्रेलिया): प्रकोप व्यवस्थापन विज्ञहरुले नेपालको भूकम्पको जोखिम उत्तिकै रहेकाले सरकार, सरोकारवाला निकाय एवं संस्था र सर्वसाधारणले जहिल्यै सजगता अपनाउनु जरुरी रहेको बताएका छन् । 

व्रिसवेनस्थित क्वीन्सल्याण्डका युनिभर्सिटी अफ टेक्नोलोजी (क्युयुटी)मा नेपाली र अष्ट्रेलियाली विज्ञहरुबीच भएको अन्तरक्रियामा झण्डै दुई बर्षअघिको जस्ता विनाशकारी भूकम्प तत्काल जाँदैन भनेर ढुक्क बस्न नहुने भन्दै सुरक्षा र उद्दारका उपायहरुमा कमी गर्न नहुने धारणा राखे । 

Advertisement

अष्ट्रेलियाले प्रदान गर्ने अष्ट्रेलिया अवार्ड फेलोशिप अन्तर्गतको अध्ययन भ्रमणमा आएको नेपाली टोली र क्वीन्सल्याण्डका नेपाली विज्ञबीच व्रिसवेनमा हालै अन्तरक्रिया भएको हो । 

नेपालीज एसोसिएसन अफ क्वीन्सल्याण्ड र एनआरएन अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समितिले संयुक्तरुपमा भ्रमण टोली र अष्ट्रेलियामा रहेर बिभिन्न निकायमा काम गरिरहेका बिज्ञहरुबीच ज्ञान र अनुभवको आदानप्रदान गर्ने उद्देश्यले अन्तर्क्रिया गरेका हुन् ।

कार्यक्रममा विशेषगरी दुई वर्ष अघि नेपालको गोर्खा जिल्लालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प, यसले पारेको क्षति, त्यस पछिको अवस्थाबारेमा छलफल भएको अन्तरक्रियाको संयोजन गरेका प्रकोप व्यवस्थापन विज्ञ डा भरत पौडेलले जानकारी दिए । 

कार्यक्रममा नेपालको बढ्दो सडक सुरक्षा चिन्ता, बाढि पहिरोका समस्याहरुमा पनि कुराकानी भएको उनले बताए । नेपाली अनुसन्धानकर्ताहरुको तर्फबाट त्रिभुवन विश्वविद्यालयका पूर्वडिन, नेपाल प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा हाल अफ्रिकाको जाम्बिया विश्वविद्यालयमा अध्यापनरत बैज्ञानिक प्रा विशालनाथ उप्रेतीले सन् २०१५ मा आएको विनाशकारी भूकम्पले नेपालमा यसको जोखिम जहिल्यै पनि कायम छ भन्ने देखाएको भन्दै भूकम्पको सूचना र सुरक्षाका लागि चेतनास्तर वृद्धि गराउनु जरुरी छ भने । 

उनले अनुसन्धान निकायहरुसँग मिलेर अहिले पनि थुप्रै ठाउँमा सेस्मिक स्टेसन खडा गरी भूकम्पिय र जमिनको भौगर्भिक अवस्थाको अध्ययन गर्ने काम भइरहेको जानकारी दिए । नेपालको काठमाडौं उपत्यका वरपर र मध्य पहाडी क्षेत्र नजिक जमिन उत्पन्न सेस्मिक गतिविधि हेर्दा अझै पनि निकै ठूलो परिमाणमा जमिनमुनी शक्ति सञ्चय हुँदै गएकाले भूकम्पको जोखिम कायमै रहेको डा उप्रेतीको तर्क थियो । 

नेपाल प्रकोप ब्यवस्थापन केन्द्रका अध्यक्ष एवम् क्युयुटीका एड्जन्क्ट प्रोफेसर डा मिनबहादुर पौडेल क्षेत्रीले २०१५ को भूकम्पको प्रभावलाई मूल्यांकन गरेर मात्रै अबको प्रकोप ब्यवस्थापन प्रभावकारी बन्न सक्ने बताए । उनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विगतमा विदेशी सहायतादेखि आन्तरिक लगानी ठूलो भए पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । 

क्वीन्सल्याण्ड सरकारको सडक विभागका प्रिन्सिपल इन्जिनियर डा पार्थमणी पराजुलीले नेपालको सडक सुरक्षासम्बन्धी आफूहरुले परियोजना प्रस्ताव तयार पारेको भन्दै अब यसलाई कार्यान्वयनमा ल्याउन एनआरएन र बिज्ञहरुले समर्थन र सहकार्यको हात अघि बढाउन पर्ने बताए । 

नेपालको सडक सुरक्षाको लागि आफूहरु कुनै पनि योगदान दिन पछि नपर्ने उनको प्रतिवद्धता थियो । प्राध्यापक भिष्म बज्राचार्यले आफ्नो प्रस्तुतीमा क्वीन्सल्याण्डका दुई ठूला सामुदायिक संस्था नाफा र एनएक्युले नेपालको भूकम्पका बेला संकलन गरेको रकम कसरी सदुपयोग गरियो ? र आगामी दिनमा अझै मानवीय सहयोगका काम तथा आर्थिक संकलनलाई कसरी उपयोगी बनाउन सकिन्छ ? भन्नेबारे स्थानीय नेपालीहरु लागिपरेको बताए । 

क्वीन्सल्याण्डका एनआरएन कार्यसमिति सदस्य तथा युएसक्युका लेक्चरर डा देवराज पौड्यालले भूकम्पका बेला प्रभाबितहरुको बस्तिको नापी र बसोबास प्रणालीलाई कसरी बैज्ञानिक ढंगले ब्यबस्थित गर्न सकिन्छ ? भन्ने तथ्यांक र प्रविधिसम्बन्धी अध्ययनको सार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डा भरत पौडेल, डा दीपक पौडेल, एनएक्युका अध्यक्ष गोबिन्द बराल, एनआरएन आइसीसीका सदस्य इश्वर कुइकेल, एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले नेपालको भूकम्पीय जोखिम र जोखिम व्यवस्थापनका क्षेत्रमा गर्न सकिने काम एवं सहयोगका विषयमा बोलेका थिए । 

अष्ट्रेलियन अवार्ड अन्तर्गत सहभागी १२ जनाको टोली एकमहिने अष्ट्रेलिया भ्रमणमा रहेको हो । कार्यक्रममा सडक बिभागका पूर्वमहानिर्देशक इन्दु ढकाल, नेपाल प्रहरीका डीआइजी डा अजित गुरुङ, डिजेबिलिटी मिडिया फाउन्डेसनका राजु थापा,  राजन कोइराला, हरि खड्का, रजनी खड्का, डा. नारायण पोख्रेल, नारायण कोइराला, डा अर्जुन न्यौपाने, नेपालबाट आएका गुरु डा. चिन्तामणि योगी, किरण खनाल, सन्तोष कुँवर पनि सहभागी रहेको डा. भरत पौडेलले जानकारी दिए । 

प्रकोप एवम् आमसञ्चार अनुसन्धानकर्मी डा पौडेलले यस पटक अष्ट्रेलियन अवार्ड फेलोशिप टोली, क्युयुटी र नेपाली समुदायबीच संयोजन गरेका थिए । टोलीले हाल प्रकोप व्यवस्थापनमा काम गरिरहेका अष्ट्रेलियाका बिभिन्न निकायको स्थलगत अध्ययन भ्रमण र बिज्ञहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

Advertisement

Advertisement