काठमाडौंः झण्डै दुई महिनाको लण्डन बसाईपछि आरजु राणा देउवा लण्डनबाट जेनेभा सरेकी छन् । छोरो भेटन भनेर लण्डन पुगेकी आरजुले दूतावासकै कर्मचारीदेखि स्थानीय नेपालीहरुले आलोचना गरेपछि त्यहाँस्थित नेपाली दूतावास छोडेर जेनेभा जान बाध्य भएकी हुन ।
उनी लण्डनबाट अर्को महिना मात्रै फर्किने कार्यक्रम थियो । आरजु लामो समयसम्म दूतावासमा बसिदिँदा नियमित काममा लाग्नुपर्ने राजदूतदेखि अन्य कर्मचारीहरु उनको स्याहार र सत्कारमा लाग्न बाध्य भएकी थिइन । काँग्रेसको पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लामो समयसम्म एक्लै छोडेर लण्डन बस्नुलाई धेरैले रहस्यको रुपमा लिँदै आएका थिए ।
शेरबहादुर छोरा जयवीर विरामी भएकोले भेटन भन्दै आरजु जनवरीको पहिलो साता लण्डन पुगेकी थिइन । तर जयवीर स्वस्थ रहेको र आमासँगै विभिन्न व्यक्तिहरुले आयोजना गरेका भोजभतेरदेखि घुमफिरका कार्यक्रममा सँगसँगै डुल्ने गरेको लण्डनका प्रत्यक्षदर्शीहरुले बताउने गरेका थिए ।
लण्डन दूतावासमा लामो समयसम्म बसेर हैरान भएको कर्पोरेट नेपालमा प्रकाशित समाचार भाइरल भएपछि आरजु लण्डन बसाई छोट्याएर स्वीजरल्याण्ड जान बाध्य भएकी हुन । दूतावास स्रोतले भन्यो– उहाँ अर्को महिना मात्रै यहाँबाट फर्किने कार्यक्रम थियो । एकाएक जेनेभातर्फ जानुभयो । नफर्किनेगरी । सायदै उतैबाट नेपाल जानुहोला ।
बेलायतका लागि नेपाली राजदूत दुर्गा सुवेदीले भने यस विषयमा बोल्न चाहेनन् । प्रवक्ताको भूमिकामा समेत रहेका दूतावासकै उपसचिव शरदराज आरनले भने – नेपालबाट कोही भिआईपी (विशिष्ट) व्यक्तिहरु आउँदा कोही राजदुत सरको निवासमा बस्नुहुन्छ । कोही मेरोमा । उहाँहरुलाई छुट्टै खर्चमा दूतावासले पाल्ने भन्ने हुँदैन । खाली छ भने यहाँहरु जति पनि बस्न सक्नुहुन्छ ।
यद्यपि उनले एउटै व्यक्ति महिनौ पाल्दा र दूतावासको गाडि दुरुपयोग गर्दा आफूहरुलाई पर्ने अप्ठ्यारो भने खुलाउन चाहेनन् । हामीले खाने चामलमा पाँच मुट्ठी थप्ने त हो नि, त्यसमा के अप्ठ्यारो हुन्छ र ? – आरनले भने ।
उनका अनुसार आथित्यता सत्कारका लागि आउने सानो बजेट राष्ट्रिय दिवसहरुमा नै सकिने भएकाले आथित्यता सत्कारको लागि छुट्टै रकम दूतावाससँग हुँदैन । सीमित बजेट र सीमित तलव सुविधामा चल्नुपर्ने विदेशस्थित नेपाली दूतावासका कर्मचारीहरुमा आरजु जस्ता सार्वजनिक पद तथा राजनीतिक छवि भएकाहरु लामो समयसम्म बसिदिँदा हैरान हुने गरेका छन् । आरजु हिँडेपछि अहिले दूतावास हल्का भएको दूतावसकै एक कर्मचारीले बताए ।
यो पनि पढनुहोसः
लण्डन दूतावासका कर्मचारी भन्छन– आरजुलाई स्याहार्दैमा हैरान भैयो