यही गतिले सन् २०२० मा २० लाख पर्यटक कसरी भित्रिन्छन ?

Advertisement

भूकम्प र नाकाबन्दीले शिथिल बनेको नेपाल पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधार देखिएको छ । तर बार्षिक तथ्याङक हेर्ने हो भने १० लाख पनि पर्यटन पुग्न सकेको छैन । यता भिजन २०-२० भन्दै सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने महत्वाकाँक्षी योजना सरकारले अघि सारेको छ । समस्यै समस्यामा गुज्रिएको नेपालको पर्यटन क्षेत्रले २० लाखको लक्ष्य के पूरा गर्न सक्ला त ? पर्यटक व्यवसायी केशव पाण्डेसँग 'कर्पोरेट नेपाल' टेलिभिजन कार्यक्रम भएको कुराकानीको सार प्रस्तुत छः
  • कति समय भयो तपाईं पर्यटन क्षेत्रमा लागेको छ ? 
दुई दशकभन्दा बढि भइसक्यो ।
  • दुई दशकमा नेपालको पर्यटन उद्योगमा के कति परिवर्तन आएको पाउनु भएको छ ? 
पक्कै पनि विकास भएको छ । विकास नभएको भन्न मिल्दैन । निजी क्षेत्रबाट धेरै काम भएका छन् । लगानी बढदो छ । तर पनि हाम्रा आन्तरिक समस्या बाधकको रुपमा छँदैछ । गति लिन सकेको स्थिति छैन ।
  • अरु देश, जो प्राकृतिक तथा साँस्कृतिक रुपमा केही छैन, मरुभूमि छन, उनीहरुले भौतिकरुपमा विकास गरेर लाखौंको संख्यामा पर्यटक भित्राइरहेका छन् । हामी सबै कुरा भएर पनि पर्यटन क्षेत्रको किन विकास गरेका छैनौं ? 
पर्यटन विकासको लागि सरकारले जुन खालको लगानी गर्नुपर्ने हो, जुन खालको शान्तिपूर्ण बाताबरण कायम राख्नुपर्ने हो, बनाएका नीति नियमहरुलाई कार्यान्वयन गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । कतिपय नीति अझै बन्न सकेको छैन । भौतिक पूर्वाधार विकासको समस्याहरु मुख्यरुपमा देखिएको छ । सडक, विजुलीको नियमित आपूर्ति, खानेपानीको सुविधा जस्ता, पदमार्गहरुको विकास सरकारले गर्नुपर्ने कुरा हुन । पर्यटन प्रवद्र्धनका लागि यस्ता कुराहरु नभई हुँदैनन् । निजी क्षेत्रले गर्ने लगानीले मात्रै पनि पर्यटन पूर्वाधार पर्याप्त हुँदो रहेनछ ।
  • यही नै हो समस्या ? 
मैले देखेको मुख्य समस्या त राजनीति नै हो । हामीले चाहेर वा नचाहेर पनि यो कुरा भन्नैपर्छ । उठाउनैपर्छ । अस्थिर राजनीति, विभिन्न खाले द्धन्द्ध, कहिले के कहिले के । यी विविध किसिमका समस्याले गर्दा विश्वसामु नेपालको परिचय भनेको जहिले पनि झैझगडा, समस्या छ भन्ने सन्देश गएका कारण नेपालमा जुन संख्यामा पर्यटक आउनुपर्ने हो, त्यो संख्यामा आउन सकेका छैनन् । पर्यटन विकासको मुख्य जड हाम्रो देशमा अशान्ति नै हो ।

  • नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरियो भने, त्यहाँसम्म पुग्न कत्तिको सहज छ ? 
नयाँ गन्तव्य पहिचानका कुरा, त्यहाँसम्म पुग्ने कुरा त टाढै राखौं अहिले । अहिले हामीसँगै चलेका मुख्य गन्तव्यहरु चितवन, पोखरा, लुम्बिनी, नगरकोट, धुलिखेल कै कुरा गर्यो भनेदेखि पनि त्यहाँसम्म पुग्ने बाटो घाटो, अरु संरचनाहरु साह्रै दयनीय छ । जीर्ण छ । पर्यटक त कुरै छोडौं । म हिजो चितवनबाट काठमाडौं आउँदा आठ घण्टा लाग्यो । पर्यटकहरु मैले भनेका गन्तव्यहरुमा जाँदा बाटोमै दिनभरिको समय बित्छ । बाटोमा गएर पनि सजिलोसँग यात्रा गर्न पाए त हुन्थ्यो । एकै ठाउँमा एक घण्टा, दुई घण्टा रोकिएर बस्नुपर्छ । पर्यटकहरुलाई यस्तो छाप परेको छ कि बाटोले गर्दा चितवन त जाँनै हुँदैन ।
  • पर्यटकहरु गुनासो के के कुरामा हुने गर्दछ ? जस्तो निजी क्षेत्रबाट दिइने सेवा सुविधामा पनि समस्या छ । 
सुविधामा अरु कुरामा उहाँहरुको गुनासो छैन । उहाँहरुको गुनासो भनेको विमानस्थल, जहाजमा हो । उहाँहरु आउँदैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई गलत इम्प्रेशन पर्छ । विमानबाट झरेपछि लगेज लिने ठाउँदेखि नै समस्या सुरु हुन्छ । दुई तीन घण्टासम्म कुर्नुपर्छ । अहिले त लगेज लिने बेल्ट थपेर अलिकति सहज सहज भए जस्तो लाग्छ । तर एकैचोटी चार पाँच वटा जहाज आयो भने......। एयरपोर्टमा जुन खालको संरचना हुनुपर्ने हो, जुन खालको सेवा हुनुपर्ने हो, जुन खालको व्यवस्थापन हुनुपर्ने हो, त्यो अहिले पनि छैन । हामी आफैले पनि देख्दै आएका छौं । भोग्दै आएका छौं । दिल्लीबाट एक घण्टामा आइपुगिन्छ । एयरपोर्टमा लगेज लिन दुई घण्टा लाग्छ । अर्को कुरा एयरपोर्टबाट निस्किने वित्तिकै जुन खालको भिडभाड देखिन्छ, पर्यटकहरुले जुन खालको हैरानी भोग्नुपर्छ, त्यो नहोस भनेर हामीले बर्षौदेखि कुरा उठाउँदै आएका छौं टान, हान, नाटालगायतका पर्यटनसँग सम्वन्धित संस्थाले सरकार, पर्यटन मन्त्रालय, एयरपोर्टसँग सम्वन्धित निकाय निकायसँग उठाउँदै आएका छौं । तै पनि उहाँहरु यी कुरालाई सुधार गर्न सक्नुभएको छैन । नयाँ मन्त्री आउनुहुन्छ । दुई चार पटक भ्रमण गर्नुहुन्छ । निर्देशन दिनुहुन्छ । तर त्यहाँका कर्मचारीको कार्यशैली र सोचमा कहिल्यै परिवर्तन हुँदैन ।

थप रोचक कुराकानी भिडियोमा हेर्नुहोसः

Advertisement

Advertisement

Advertisement