डिपिएलको दोस्रो दिन काठमाडौं गोल्डेन्स विजयी

Advertisement

धनगढीः जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ । 

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा टोलीले सम्मानजनक रन बनाएको हो । 

Advertisement

काठमाडौंका लागि सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले १६ रन जोडे भने सन्दीप झोरा १३ रनमा अविजित रहे । कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए । १४८ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२३ रनमा समेटियो । 

सुरुआत राम्रो गरे पनि कञ्चनपुरका मध्य र पुछारका ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ओपनर सागर पुनले ४० र सुनील धमलाले १४ रन बनाएर सुरुआत राम्रो गरे पनि त्यसपछिका आशा गरिएका खेलाडीले रन बटुल्न सकेनन् । हसिम अन्सारीले १८ रन र अभिनाश कर्णले अविजित १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

काठमाडौंलाई जिताउन वसन्त रेग्मी र सन्तोष भट्टले २÷२ विकेट लिए । मञ्जीत श्रेष्ठ र सन्दीप श्रेष्ठले १÷१ विकेट लिए । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्र्जस तथा दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्सबीचमा प्रतिस्पर्धा हुनेछ । 

Advertisement

Advertisement