डिपिएलमा कञ्चनपुर आइकोनिकको पहिलो जित,  पारस नेतृत्व चौराहा ११ रनले पराजित

Advertisement

काठमाडौं: धनगढीमा जारी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले आफ्नो पहिलो जित हासिल गरेको छ।

कञ्चनपुर आइकोनिकले यसअघिका दुवै खेलमा पराजित भएको थियो । त्यस्तै, राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाको भने यस लिगमा लगातार दोस्रो हार हो ।

Advertisement

सेती अञ्चलको प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०५ रनको झिनो योगफल बनाएको थियो । ओपनर सागर पुन र सुनील धमलाले राम्रो सुरुवात गरेपनि कञ्चनपुरको मध्यक्रमले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । सागरले २० र सुनीलले ३९ रन बनाएका थिए ।

सिद्धान्त लोहनीले सातौं नम्बरमा आएर २० बलमा २७ रन बनाएपछि कञ्चनपुरले १०० रनको आँकडा पार गरेको थियो । कप्तान बिनोद भण्डारी र प्रेम तामाङ शून्यै आउट भएका थिए ।

चौराहाका लागि रामनरेश गिरी र आरिफ शेखले २/२ विकेट लिए भने सुशान भारी र प्रेम तामाङले १/१ विकेट लिए ।

१०६ रनको झिनो लक्ष्य पछ्याए पनि पारस खड्काको टोली चौराहा १७.४ ओभरमा नै अल आउट हुँदै जम्मा ९४ रनमा समेटियो । पारसले मात्र २३ रन बनाएका थिए जुन उनीहरुको अन्य खेलाडीहरुले बनाएको भन्दा सबैभन्दा ठुलो योगफल हो ।
आरिफ शेखले २२, पृथु बास्कोटाले १९ र अनिल मण्डलले १२ रन जोडेपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चौराहाका ४ ब्याट्सम्यान शून्यमै आउट भएका थिए ।

चौराहाको इनिङ ध्वस्त पार्ने क्रममा अभिनाश कर्णले ३ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ३ ओभरमा १२ रन खर्चिए । ललितसिंह भण्डारी र चन्द्र साउदले २/२ विकेट लिए । सुनील धमला र सिद्धान्त लोहनीको नाममा एक एक विकेट रहृयो ।

कञ्चनपुरले यसअघि सम्पन्न दुई खेलमा रुपन्देही र काठमाडौंसँग पराजय ब्यहोरेको थियो ।

Advertisement

Advertisement