यो साता नेप्सेमा १५ कम्पनीको दुई करोड ४४ लाख कित्ता सेयर सुचीकृत

Advertisement

काठमाडौंः यो साता नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीको दुई करोड ४४ लाख २५ हजार ७४४ कित्ता सेयर सुचीकृत भएको छ । यति ठूलो परिणाममा सेयरहरु सुचीकृत भएको यो हप्ता हो । यसमा सबैभन्दा बढि नेपाल एसबिआई बैंकको एक करोड आठ लाख ८९ हजार कित्ता बोनस सेयर छ । 

सबैभन्दा कम सहारा विकास बैंकको ५७ हजार ३४८ कित्ता बोनस सेयर छ । सुचीकृत हुनेमा एसबिआई र सहाराबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर, कैलाश विकास बैंक, मञ्जुश्री फाइनान्स, बुटवल पावर कम्पनी, अल्पाइन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सानाकिसान विकास बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, समिट माइक्रोफाइनान्स वित्तीय संस्था र लुम्बनी फाइनान्स एण्ड लिजिङ कम्पनी छन् । 

Advertisement

कारोबारतर्फ हेर्दा यो साता सेयर बजार परिसुचक नेप्से यो साता ३९ अंकले घटेर एक हजार ६५८ अंक कायम भएको छ भने कारोबार रकम ३७ दशमलव ६९ प्रतिशतले घटेर पाँच अर्ब १८ करोड रुपियाँमा सीमित भएको छ । समूहगत कारोबार हेर्दा बिमा क्षेत्रका कम्पनीहरुको उपसुचक १८१ अंकले घटेको छ भने उत्पादनमूलक समूह साढे ४६ अंकले, बाणिज्य बैंक ४५ दशमलव ३५ अंकले, जलविद्युत भण्डै ४४ अंकले, विकास बैंक २७ दशमलव ३६ अंकले, होटल साढे १३ अंकले, अन्य आठ दशमलव ६८ अंकले, वित्त शुन्य दशमलव ४४ अंकले घटेका छन् । 

पछिल्ला दिनहरुमा सेयर बजार निकै उतार चढार रहँदै आएको छ । स्थानीय निर्वाचन घोषणासँगै सुधार भएको बजार पछिल्ला दिनमा मधेसी मोर्चाको आन्दोलनको घोषणाले केही शिथिल भएको महशुस गरिएको छ । यद्यपि निर्वाचन र आर्थिक बर्षान्तको कारण विकास निर्माणले पनि गति लिने समय भएकोले बजार घटने भन्दा बढने संभावना बढि रहेको विश्लेषकहरुको अनुमान छ । 

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अंकले बढेर ३५८ दशमलव ०३ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (२१ करोड ७७ लाख ८० हजार रुपियाँ), कारोबार भएको सेयर संख्या (पाँच लाख एक हजार कित्ता) र कारोबार संख्या (एक हजार ४८९ वटा) को आधारमा एनसीसी नै अग्रस्थानमा छ ।

Advertisement

Advertisement