एमालेको शतक पूरा, काँग्रेस पछ्याउँदै, माओवादी अर्धशतक बनाउने तयारीमा

Advertisement

काठमाडौंः दुई दशकपछि वैशाख ३१ गते भएको स्थानीय निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचनमा शुक्रबारसम्म २४५ स्थानको नजिता आएको छ । जसअनुसार विपक्षी दल एमालेले अग्रता लिँदै एकसय नगर तथा गाउँपालिकाको नेतृत्व लिन सफल भएको छ ।

राष्ट्रियताको मुद्दाहरुलाई पछिल्ला समयमा निकै अडान लिँदै आएको एमालेले संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई समेत पछि पार्दै शतक पुरा गरेको हो। सुरुदेखि नै अग्रता लिएको एमालेलाई दोस्रो चरणमा तराई क्षेत्रमा हुने निर्वाचनमा भने अग्रता लिन अल्लि कठिनाई हुने देखिन्छ ।

पहिलो चरणको निर्वाचनको गणनामा कांग्रेसले ९४ स्थानीय तहमा विजय हासिल गरेको छ भने सत्ताको समेत नेतृत्व गरेको तेस्रो ठूलो दल माओवादी अर्धशतक नजिक पुगेको छ । माओवादीले अपेक्षाभन्दा निकै धेरै अर्थात ४५ स्थानमा विजय हासिल गरेको छ भने धेरै स्थानमा विजय हासिल गर्ने अपेक्षा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थिति भने निराशाजनक छ ।

राप्रपाले जम्मा एक स्थानमा विजय हासिल गरेको छ भने नयाँशक्ति नेपाल एक, जनमोर्चाले एक र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका छन् । यस्तै उपाध्यक्ष तथा उपमेयरमा एमाले ११३, कांग्रेस ७४, माओवादी ४६, राप्रपा ५, अन्य ७ स्थानमा विजयी भएका छन्।

पहिलो चरणामा निर्वाचन हुने ३४ जिल्लाका २८३ तहमध्ये दुई स्थानमा निर्विरोध प्रतिनिधि चयन भएका थिए। मतगणना भइरहेका चारवटा महानगरपालिकासहित ३९ नगर तथा गाउँपालिकाको नतिजा आउन बाँकी छ। ३९ मध्येकै कालिकोटको नरहरिनाथ र दोलखाको मेलुङमा स्थगित भएको दोस्रो चरणको निर्वाचन भएको छैन भने बाँकीमा गणना जारी छ ।

Advertisement

Advertisement

Advertisement