आफूहरुको करोडौं रुपियाँ ठगेको भन्दै राजेन्द्र खेतानलाई पक्राउ गर्न वितरकहरुको माग

Advertisement

काठमाडौंः पटक पटक विवादमा पर्दै आएका व्यवसायी राजेन्द्र खेतानसहित प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतानले आफै उद्योग बन्द गरेर बैंक धरौटीवापतको आफूहरुको करोडौं रुपियाँ फिर्ता नगरी गठी गरेको भन्दै वितरकहरुले उनीहरुलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् । 

मुलुकभरका तीन हजारभन्दा बढि व्यवसायीहरु संगठित रहेको नेपाल वितरक महासंघले बुधबार पत्रकार सम्मेलन गरी हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिमार्फत उत्पादित मायोज, हम्पीडम्पी चिजबल्स जस्ता उत्पादनहरुको वितरक भई व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई सुचनै नदिई आफै उद्योग बन्द गर्ने, धरौटीबापतको रकम पनि फिर्ता दिनुको सट्टा आफै झिक्ने र स्टकमा रहेका म्याद सकिएका उत्पादनसमेत फिर्ता लान नमानेको खुलासा गरेको हो ।  

Advertisement

विना सुचना एकाएक उद्योग बन्द गरिएको, बजारमा रहेका म्याद गुज्रिएका उत्पादनसमेत फिर्ता लान नमानेको, फिर्ता लगिएका सामानको पनि हिसाव नगरी वितरकहरुले कम्पनीको शर्तअनुसार राखेको बैंक ग्यारेन्टीको पैसा वितरकहरुलाई जानकारी नदिई झिकेर ठगी गरेको महासंघको भनाई छ । 

यसबाट हिमालयन स्न्याक्सका सयभन्दा बढि वितरकहरुको करोडौं रुपियाँ जोखिममा परेको भन्दै व्यवसायीले सरकारी निकायदेखि व्यवसायिक संगठनहरुसँग हारगुहार गर्दासमेत राजेन्द्र खेतानले आफ्नो पहुच र पैसाको आडमा पेल्ने काम गरेको गुनासो पोखे । आफूहरुसँग स्टक रहेका म्याद गुज्रिएका सामान फिर्ता लिएर सबै हिसाव किताव गरी बैंक ग्यारेन्टीबापतको रकम फिर्ता नगरे तीनै जना खेतानको लगानी रहेको गोर्खा ब्रुअरीका सबै उत्पादनहरुको बिक्री वितरणसमेत ठप्प पार्ने चेतावनी दिएका छन् । 

महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ– बजारमा उधारो छ । गुणस्तरहीन भएकोले बिक्री अयोग्य भएका सामानहरु फिर्ता लगेको छ । उद्योग बन्द हुनुअघि उत्पादन गरेको गुणस्तरहीन सामानहरु वितरकको गोदाममा पठाइएको छ । उक्त सामानहरु फिर्ता लैजान बाँकी छ । सोको हिसावकिताव मिलान गर्न पटक पटक आग्रह गर्दा हिमालन इस्न्याक्सका अधिकारीहरु सम्पर्कमा नआई एकातर्फीरुपमा आफूखुसी बैंकबाट भुक्तानी लिएको छ । 

कम्पनीलाई रकम बुझाउनुपर्ने भए हिसावकिताव गरेर बुझाउन आफूहरु तयार हुँदाहुदै पनि फोन नै नउठाउने, उठाए पनि स्पट कुरा नगर्ने गरेको वितरकहरुको भनाई छ । व्यवसायीले खेतानहरुविरुद्ध अदालतमा मुद्दासमेत दायर गरेका छन् । हिमालयन स्न्याक्सका उत्पादनहरु गुणस्तरहीन भेटिएसँगै यस्ता उत्पादनहरुको बिक्रीमा सरकारले रोक लगाएपछि राजेन्द्र खेतानले उद्योग बन्द गरेर राखेका छन् । 

यसै समस्यालाई लिएर गठित समस्या समाधान समितिका संयोजक दुर्गा श्रेष्ठले पत्रकार सम्मेलनमा राजेन्द्रसहित खेतान दाजुभाईले वितरकहरुको करोडौं रुपियाँ गठी गर्दा पनि राज्यलाई उनीहरुलाई कुनै कारवाही नगरेको बताए । सबै वितरकहरुले कुल कारोबारअनुसार २१ देखि २ लाख रुपियाँ खेतानलाई दिए पुग्नेमा उनीहरुले आफूहरुको करोडौं रुपियाँ विना जानकारी झिक्ने काम गरेको भन्दै यो सरासर गठी भएको बताए । 

उनले उद्योगमन्त्री नविन्द्रराज जोशीले फोन गर्दासमेत राजेन्द्र खेतानले फोन नउठाएको र नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले फोन गर्दा भोलि कुरा गरौंला भनेर उनले लाइन काटेको खुलासा गरे । हिसावकिताज गरी आफूहरुको पैसा फिर्ता नगरे गोर्खा ब्रुअरीले उत्पादन गर्ने सबै उत्पादनको बिक्री ठप्प पार्ने श्रेष्ठको चेतावनी थियो । 

अन्य मुलुकमा यस्ता उद्योगीलाई तत्कालै पक्राउ गरी कारवाही हुने गरे पनि नेपालमा भने खेतानले पहुच र पैसाको बलमा दादागिरी देखाएको र साना व्यवासायीलाई निल्ने काम गरेको श्रेष्ठको भनाई छ । बैंक जमानत भनेको जब ऋणीले ऋण नतिरेमा मात्रै अशुल उपर गर्ने कुरा हो भन्दै व्यवसायीले आफ्ना सामानको हिसाव गर्न पनि नमान्ने, म्याद गुज्रिएका सामान पनि फिर्ता नलाने र उल्टै बैंक ज्ञारेन्टी झिक्ने कुरा गैरकानुनी र अपराध हो भने । 

महासंघको काठमाडौं शाखाका अध्यक्ष नुच्छेराज मानन्धरले आफूहरुले पटक पटक आग्रह गर्दा पनि बैंक ग्यारेन्टी तान्न नरोकिएको भन्दै यसलाई अब नरोके राम्रो नहुने चेतावनी दिए । महासंघको पूर्वाञ्चल क्षेत्रीय संयोजक दिनेश सिटौलाले बजारमा रहेको ड्याम्ेज उत्पादनहरु पटक पटक लैजान आग्रह गर्दा पनि वास्ता नगरिएको गुनासो गरे । 

महासंघका पूर्व अध्यक्ष एसपी ढकालले देशमा कानुनी राज्य नहुँदा राजेन्द्र खेतान जस्ता ठगहरु पक्राउ पर्न नसकेको भन्दै विना आधार साना व्यवसायीको पैसा खाने खेतानलाई तत्काल पक्राउ गरी हतकडी लगाउनुपर्ने बताए । आफूहरुले घरजग्गा धितो राखेर बैंकमा ग्यारेन्टी राखेको पैसा विना हिसावकिताव तानेर खाने काम हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताए । 

आफै अध्यक्ष रहेको एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नै कम्पनी हिमालय स्न्याक्सलाई झूटा विवरणको आधारमा दाबी भुक्तानी गरेको भन्दै बिमा समितिले कारबाही अगाडि बढाएपछि राजेन्द्रसहित खेतान दाजुभाई फरार रहँदै आएका छन् । उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ सूचीमा रहे पनि पक्राउ पर्न सकेका छैनन् ।

Advertisement

Advertisement