रेणुलाई जिताउन दाहालले देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्दै 'जय नेपाल' भने

Advertisement

भरतपुरः काँग्रेस र माओवादीका नेताद्धय शेरबहादुर देउवा र पुष्पकमल दाहालले एउटै मञ्चबाट भरतपुर नगरपालिकाका साझा उम्मेद्वारहरुलाई भोट मागेका छन् । काठमाडौंबाट सँगै जहाज चढेर आएका देउवा र दाहालले दुई पार्टीबीच तालमेलमा उठाइएका उम्मेदवारलाई जिताउन एउटै मञ्चबाट आह्वानसमेत गरे । 

उक्त नगरपालिकामा माओवादीतर्फकी उम्मेदवार एवं दाहाल पुत्री रेणुलाई काँग्रेसले समर्थन गर्ने र पोखरा र काठमाडौं महानगरका काँग्रेसका उम्मेदवारलाई माओवादीले समर्थन गर्ने समझदारी भएको छ । काँग्रेसको गढकै रुपमा लिइने भरतपुर नगरपालिकामा माओवादीलाई समर्थन गरेको भन्दै यस क्षेत्रका काँग्रेसीहरु देउवासँग रुष्ट हुँदै आएका छन् । 

Advertisement

कार्यक्रममा प्रधानमन्त्री माओवादी अध्यक्ष दाहालले देशको विकास र समृद्धिको लागि कांग्रेस र माओवादीले कठोर निर्णय गर्दै चुनावमा तालमेल गरेको भन्दै कठोर निर्णय गर्न नसक्ने मान्छे नेता हुन नसक्ने तर्क गरे । 

उनले सिंगै नेपालको ध्यान यतिखेर चितवनमा केन्द्रित रहेको भन्दै भरतपुरकोे निर्वाचन अर्थपूर्ण रहेको बताए । विपक्षी दल एमालेका अध्यक्ष केपी ओली पनि चितवन आएको कुरा आफूले सुनेको र एमालेको समेत ध्यान यहीं रहेको भन्दै दाहालले भरतपुरको निर्वाचन परिणाम आफूहरुको पक्षमा आउने दावी गरे । 

काँग्रेस कार्यकर्ता तथा मतदाताको मन जित्न उनले कार्यक्रममै देउवालाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्नुका साथै जयनेपाल भनेर विदासमेत भएका थिए । दाहालले त्यसो भन्दा दर्शकहरुले तालिसमेत बताएका थिए । 

स्थानीय निर्वाचनको सुनिश्चितताले जनतामा उत्साह पलाएको दाहालको भनाई थियो । तर मिडियाले रेणुलाई आफ्नी छोरीको रुपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । रेणुको आफ्नै पहिचान रहेको र आफ्नो कारणले उनी उम्मेद्वार नबनेको दाहालको तर्क थियो । 

आफ्नै त्याग, तपस्या र मेहनतले टिकट पाएकी रेणुलाई आफ्नी छोरी भन्दा उनीमाथि अन्याय हुने दाहालले जिकिर गरे । उनले साझा उम्मेदवारहरुलाई अत्यधिक मतले जिताएर पहाड मधेसलाई विखण्डन गर्न खोज्नेहरुलाई जवाफ दिन पनि आग्रह गरे । 

कांग्रेस सभापति देउवाले अहिलेको गठवन्धन स्थानीय तहको निर्वाचन मात्र नभई संघीय र प्रान्तीय चुनावपछिसम्म कायम रहने दावी गरे । एमालेलाई लक्षित गर्दै उनले पनि पहाड र मधेसलाई झगडा गराउने तत्वबाट सर्तक रहन कार्यकर्तालाई सुभाव दिए । 

मेयरकी उम्मेदवार रणु र कांग्रेसतर्फबाट उपमेयरकी उम्मेदवार पार्वती शाह दुवैलाई विजयी गराउन आह्वान गर्दै देउवाले स्थानीय निर्वाचनमा काँग्रेसको बहुमत सुनिश्चित रहेको दावी गरे । कार्यक्रममा काँग्रेस महामन्त्री शशांक कोइराला, नेता बालकृष्ण खाँड, माओवादी नेता अमिक शेरचनलगायतले बोलेका थिए । 

Advertisement

Advertisement