भारतबाट आयातित बिजुलीको मूल्यमा भारी वृद्धि, नेपालको कुटनीतिक असफलता

Advertisement

काठमाडौंः भारतले नेपालमा बिक्री गर्दै आएको बिजुलीमा भारी मूल्यवृद्धि गरेको छ । भारतको केन्द्रीय सरकारसँग सोझै सम्झौता भएर आएका बाहेक बिहार राज्यबाट आयात गरिएको झण्डै दुईसय मेगावाट विजुलीमा २२ प्रतिशत मूल्यवृद्धि गरेको हो ।

यसले नेपाल विद्युत प्राधिकरणलाई मासिक ४० करोड रुपियाँभन्दा बढिको भार थपिएको छ । यसअघि बिहारको बिहार स्टेट इलेक्ट्रिसिटी बोर्डबाट प्रतियुनिट आठ रुपियाँ ८८ पैसामा बिजुली आयात हुँदै आएकोमा एकैचोटी वृद्धि गरेर ११ रुपियाँ २८ पैसा पुर्याइएको छ ।

जबकी केन्द्र सरकारसँग भएको पावर एक्सचेन्ज एग्रिमेन्टअनुसार भाउ बढाउनै परे पनि बर्षको पाँच प्रतिशतभन्दा बढि बढाउन पाइँदैन । पावर एक्सचेन्ज एग्रिमेन्ट भारतको केन्द्रीय सरकारसँग गरेको छुट्टै सम्झौता हो जसअनुसार बिहार राज्य सरकारले आफ्ना विभिन्न नाकाबाट नेपाललाई विजुली बिक्री गर्दै आएको छ ।

यसअघि नै महंगोमा बिजुली बिक्री गर्दै आएको बिहारले नेपालीमाथि चर्को भार पर्नेगरी सम्झौताविपरित भाउ बढाएको हो । गएको शुक्रबार मजफरपुर–ढल्केबर नाका हुँदै आयात भइरहेको विजुलीको खरिद सम्झौता नवीकरण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा एउटा टोली दिल्ली पुगेको थियो ।

त्यहाँ भारतीय पक्षले आफूहरुले बिजुली दिएर नेपालको लोडसेडिङ न्यूनीकरण भए पनि त्यसको जस आफूहरुलाई नदिएको, उर्जासचिवस्तरीय बैठकमा सहमति भएअनुसार भारतीय कम्पनीसँग एलइडी बल्ब खरिद गर्न आनाकानी गरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

भारतीय पक्षले ढल्केबर–मुजफरपुरबाट थप बिजुली चाहिने भए बिहारबाट निर्यात भइरहेको बिजुली महंगोमा किन्नुपर्ने, नभए नवीकरण नगर्ने शर्त राखेपछि नेपाली पक्ष सम्झौता गर्न बाध्य भएको थियो । दिल्लीमा त्यहाँको उर्जा मन्त्रालयअन्र्गतको एउटा इकाई एनभीभीएनसँग तीन महिनाका लागि बिद्युत खरिद सम्झौता गरेर फर्किएको नेपाली टोली फर्किनासाथ बिहारको पटना पुगेको थियो ।

भारतको केन्द्रीय सरकारसँग सोझै सम्झौता भएर ढल्केबर–मुजफरपुर नाकाबाट आउने १६० मेगावाट र टनकपुरबाट आउने ३५ मेगावाट बिजुली प्रतियुनिट भारु तीन रुपियाँ ६० पैसा अर्थात नेपाली पाँच रुपियाँ ७६ पैसामा आयात भइरहेको छ । त्योबाहेक बिहारका विभिन्न नाकाबाट आइरहेको झण्डै दुईसय मेगावाट विजुलीमा एकैपटक २२ प्रतिशत मूल्य वृद्धि गरी नेपाली ११ रुपियाँ २८ पैसा पुर्याइएको हो ।

तर प्राधिकरण नेतृत्वले भाउ बढे पनि यसलाई सार्वजनिक नगरी गोप्य राखेको छ । प्राधिकरण स्रोत भन्छन– बढेको पक्का हो । नबढेको भए वा घटेको भए त हिजै केही अनलाइनमा ‘कुनमानको अर्को सफलता’ भनेर समाचार आएको देखिहाल्नुहुन्थ्यो नि । त्यो नआउनु भनेको बढेको पक्का प्रमाण हो ।

उनले यो विषय नेपालको कुटनीतिक र प्रशासनिक असफलता भएको स्वीकार गर्दै भने– नेपालले तिम्रो महंगो बिजुली चाहिँदैन भन्नसक्ने अवस्था पनि छैन । सम्झौता गर्दा पनि नेपालको हितमा छैन । उनीहरुले हलो अडकाएर भाउ बढाउने काम गरे ।

आफूहरुले बिजुली दिएर नेपालमा लोडसेडिङ कम भए पनि आफूहरुलाई जस नदिएको भन्दै भारतीय उर्जामन्त्री पियुस गोयलले सार्वजनिक कार्यक्रम र नेपाली अधिकारीहरुसँगको भेटमा असन्तुष्टि जनाउँदै आएका थिए । त्यसरी बिजुली दिएवापत आफ्नो कम्पनी इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेडबाट दुई करोड थान एलइडी बल्ब किन्नुपर्ने शर्त उनले राखेका थिए ।

तर नेपालमा विना प्रपिस्पर्धा भारतीय कम्पनीलाई महंगोमा एलइडी किन्न दिन लागिएको भन्दै चर्को आलोचना भएपछि त्यो प्रक्रिया अहिले अन्योलमा परेको छ । आफूहरुले भनेअनुसार नहुने भएपछि भारतीय पक्षले आफ्नो असन्तुष्टि बिद्युत महशुल बढाएर देखाएका हुन ।

उर्जामन्त्री जनार्दन शर्माले बिहारबाट आयात भइरहेको बिजुलीको महशुल वृद्धि हुन नदिन पावर एक्सचेन्ज कमिटिको नियमित बैठक राखेर भारतीय पक्षसँग कुरा राख्नुपर्नेमा उनले राख्न सकेका छैनन् । लामो समयदेखि उक्त बैठक बस्न नसक्दाको परिणाम मुलुकले ठूलो आर्थिक भार बोक्नुपरेको छ । हाल भारतसँगका कुल १३ वटा नाकाबाट तीनसय मेगावाटभन्दा बढि बिजुली आयात भइरहेको छ भने विजुली झण्डै चारसय मेगावाटभन्दा बढि आयात भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement