स्वास्थ्य उपकरण बनाउन आविस्कार केन्द्र र स्वास्थ्य मन्त्रालयबीच सहकार्य

Advertisement

काठमाडौंः स्वास्थ्य मन्त्रालयले नेपालको भूगोल सुहाउँदो स्वास्थ्य उपकरण निर्माण गर्न लागेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

नेपालको स्वास्थ्योपचारलाई गुणस्तरीय र प्रभावकारी बनाउन नेपालकै अवस्थानुसारको उपचार उपकरण बनाउँदा सस्तो र गुणस्तरीय हुनाका साथै नेपाली आविष्कारलाई समेत प्रेरण मिल्ने भएकाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको महत्वपूर्ण स्थान भएकाले नेपालीलाई कस्तो खालको प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने बताए ।

केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने भएकाले आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने बताए ।

उनले भने, ‘‘हामीले तीनवटा विषयमा चार टिम बनाएर काम गरिरहेका छौँ । नेपाली इन्जिनियरहरुले औषधि बोक्ने ड्रोन, बच्चालाई इन्कोभेटर र प्यारालाइसिस भएको व्यक्तिका लागि सोचेर आफ्नो सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने एप बनाउन काम गरिरहेका छन्, जसले यस्ता उपकरण र प्रविधि कसरी प्रयोग गर्ने, गाउँगाउँमा सेवा कसरी पुर्याउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले मात्र काम गर्नसक्ने भएकाले सहकार्य आवश्यक थियो ।’’

ती प्रविधि र उपकरण आउन करिब एक वर्ष लाग्ने पुनको भनाइ छ । यसअघि पुनको आविश्कार केन्द्रले औद्योगिक प्रविधिको विकास गर्न उद्योग मन्त्रालयसँग पनि सहकार्य गरेको थियो ।

Advertisement

Advertisement

Advertisement