टेलियाको कर विवादलाई हामीले निष्कर्षमा पुर्यायौंः एनसेल, अब आक्रामक लगानी र सेवा विस्तार

Advertisement

काठमाडौः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एएसद्धारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्वन्धित थप १३ अर्ब ६० करोड रुपियाँ अग्रिम कर बिक्रेताको तर्फबाट चुक्ता गरी आफूले आफूले करसम्वन्धी विवादलाई निष्कर्षमा पुर्याएको बताएको छ ।

एनसेलले सोमबार जारी गरेको विज्ञप्तिमा देशकै सबैभन्दा ठूलो करदाता र जिम्मेवार कर्पोरेट नागरिकको रुपमा रहेको एनसेल प्राइभेट लिमिटेडले आफ्नो भूतपूर्व लगानीकर्ता (बिक्रेता) टेलियासोनेराद्धारा गरिएको अप्रत्यक्ष बिक्री (कारोबार)सँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यलयको निर्देशनबमोजिम निष्कर्षमा पुर्याएको पुष्टि गरेको उल्लेख छ ।

एनसेलले हालसम्म गरेको कुल अग्रिमदाखिलाको आधारमा ठूला करदाता कार्यलयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो हो भन्दै कम्पनीले टेलियासोनेरासँग कर अशुल नगरिँदा आफूले भुक्तानी गर्नुपरेको आशय व्यक्त गरेको छ ।

विज्ञप्तिमा उल्ल्लेख छ, ‘देश र जनताको समृद्धिका लागि कटिवद्ध एक जिम्मेवार कर्पोरेट नागरिकको आफ्नो उच्च छविलाई कायम राख्दै एनसेलले यस विषयका सम्पूर्ण मामिलालाई सल्टाउन तथा निष्कर्षमा पुर्याउनका लागि सरकारलाई आफ्नो सम्पूर्ण सहयोग प्रदान गर्न पाएकोमा खुसी छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले एनसेलले सधै नेपालका कानुनको परिपालना गरेको भन्दै आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामी नेपाल सरकार तथा ठूला करदाताकार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउनका लागि प्रदान गरेका सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं ।’

यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वादरुपमा लगाउन पाउने छ भन्दै पर्किन्सले जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने बताएका छन् ।

नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामकरुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, कम्पनी आफ्ना कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथा विशेष गरेर आफ्ना एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई बहु लाभ प्रदान गरिरहन प्रतिबद्ध रहेको उसले जनाएको छ ।

कम्पनी सञ्चालनको १३ वर्षमा सरकारलाई विभिन्न शिर्षकमा एक खर्ब ६० अर्बभन्दा बढी राजश्व योगदान पुर्याएको भन्दै एनसेलले आफू देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्ने जनाएको छ । एनसेलले नेपालको कुलग्राहस्थ उत्पादनमा तीन दशमलब दुइृ प्रतिशतको योगदान पुर्याइरहेको उसको भनाई छ ।

सन् २०१६ मा कम्पनीको संचालन तथा पूजीगतलगानी २५ अर्ब ८० करोड रुपियाँभन्दा बढी रहेको भन्दै कम्पनीले आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement