पाँच खाडी राष्ट्रद्धारा कतारसँग सम्वन्ध विच्छेद, विश्वकप फुटबलसमेत प्रभावित हुनसक्ने

Advertisement

दोहा (कतार)ः आतंकवादलाई प्रोत्साहन दिएको भन्दै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । सन् २०२२ को विश्वकप फुटवलको तयारी गरिरहेको कतारसँग उनीहरुले सोमबार सम्वन्ध विच्छेदको घोषणा गरेका हुन । अरबबाहेकको राष्ट्र माल्दिभ्सले समेत कतारसँग सम्वन्ध तोडेको छ ।

युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश नै छोड्न अनुरोध गरेको छ भने सम्वन्ध विच्छेद गरेका मुलुकहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्ध रद्द गर्ने निर्णय गरेका छन् । साउदीले कतारी नागरिकहरुलाई आफ्नो देश जान र कतारमा रहेका आफ्ना नागरिकलाई फर्किन भनेको छ ।

उनीहरुले आतंकवादलाई कारण देखाए पनि मुख्य कारण भने विश्वकप फुटबलको तयारीमा कतारको एकल तयारी र त्यसमा आफूहरुको भूमिकालाई उपेक्षा गरेको कारण हुनसक्ने विश्लेषकरुको भनाई छ ।

साउदी अरब, बहराइन, यूएई, इजिप्ट र यमनको कदमपछि ती मुलुकसँग कतारको हवाई सम्वन्ध विच्छेद भएको छ भने विश्वकप फुटबल के हुन्छ भन्ने अन्योल बढेर गएको छ । साउदीबाट प्राप्त समाचारअनुसार उक्त मुलुकले कतारसँगको सीमासमेत सिल गरेको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ । कतारका विश्लेषकहरुले यसलाई खाडी राष्ट्रहरुबीच सम्वन्ध विगारेर फाइदा लिने पश्चिमाहरुको प्रयासको रुपमा समेत लिएका छन् ।

तर साउदीले भने कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप लगाएको छ । उसले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

यूएई र यमनले कतार सरकारबाट सञ्चालित सञ्चारमाध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारवाहीलाई कमजोर पार्ने कोसिस गरेको, अरब क्षेत्रको छिमेकमा अस्थिरता निम्त्याउने समूहलाई सहयोग गरेको आरोप लगाएका छन् ।

यस घटनाले कतारमा रोजगारी पाइरहेका झण्डै पाँच लाख नेपालीसहित अन्य मुलुकका लागि कामदारहरुको रोजिरोटी गुम्ने खतरासमेत बढेको छ । कतारलाई एक्ल्याउने प्रयासले यस क्षेत्रको श्रमबजारका साथै व्यापार व्यवसायमा समेत मन्दी आउने, इन्धन आपूर्तिमा समेत प्रभाव पर्नसक्ने देखिन्छ ।

Advertisement

Advertisement

Advertisement