एमाले नेता रावल भन्छन– भरतपुरको निर्वाचनमा न्यायालयको फैसला मान्छौं, प्रमको निर्वाचन रोक्दैनौं

Advertisement

काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष भीम रावलले भरतपुर निर्वाचनका विषयमा न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लवमा रावलले चितवनको भरतपुर महानगरपालिकाको माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले गरेको निर्णयका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरे पनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्वीकार गर्ने बताए ।

उनले मंगलबार हुने प्रधानमन्त्री चयन प्रक्रियामा संसद अवरोध नगर्ने बताए । रावलले भने, “चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मन पनि च्यातिएका छन् ।”

रावलले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने बताए । यद्यपी उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मतहाल्ने बताए । रावलले आफ्नो पार्टी अहिले सरकारमा जाने मनस्थितिमा पनि नरहेको जिकिर गरे ।

भरतपुरमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी काँग्रेस र माओवादी केन्द्र नै रहेको भन्दै उनले भने, ‘मतपत्र च्यात्ने काम गरेर उहाँहरुले कु–चक्रमा देशलाई अघि बढाउन खोज्नुभयो, यसले लोकतान्त्रिक व्यवस्थालाई आँच पुगेको छ।’

रावलले आफ्नो पार्टी जहिले पनि राष्ट्रको हितका लागि सहमति गर्न तयार रहेको स्पष्ट पारे । यद्यपी उनले वर्तमान सरकारको क्रियाकलाप ठीक नभएकाले मंगलबार हुने प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने जनाए । उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन हुँदैन् ।’ उनले अहिले संविधान संशोधन, स्थानीय तहको संख्या हेरफेर हुननसक्ने समेत जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement