देउवाको खड्गो कट्यो, प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा अवरोध नगर्न एमाले सहमत

Advertisement

काठमाडौंः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतगणनाको विरोधमा संसद अवरोध गर्दै आएको विपक्षी दल एमालेले अवरोध नगर्न सहमत भएपछि काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन बाटो सहज भएको छ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए । उनीहरुले भरतपुरको मतगणनाको विवाद अदालतमा विचाराधिन रहेकाले अदालतको फैसला कुर्ने भन्दै अवरोध हटाउन सहमत भएको हो ।

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिए ।

त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।

प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको जनाइएको छ ।

पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहोर्याउने सङ्कल्प गरिएको एमाले नेता झलनाथ खनालले बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद्को अवरोध हटाउन एमाले समहत भएकाले मङ्गलबार राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको बताए ।

Advertisement

Advertisement

Advertisement