पटक पटक असक्षम भएका देउवा यो पटक सफल होलान ? यस्तो छ उनको जीवनी

Advertisement

काठमाडौंः विसं २००३ सालमा डडेलधुराको असीग्राममा जन्मिएका शेरबहादुर देउवाले चौथो पटक प्रधानमन्त्री हुने सौभाग्य पाएका छन् । गिरिजाप्रसाद कोइरालापछि यति धेरै प्रधानमन्त्री हुने उनी दोस्रो हुन । असीग्रामर्क महेन्द्र माविबाट निम्न माध्यमिकसम्मको शिक्षा पूरा गरेका उनले डोटीको उच्चकोटस्थित सीताराम माविबाट पूरा गरेका थिए ।

उनी स्कुले जीवनबाट नै कांग्रेसको राजनीतिसँग निकट भएका थिए । एलएसली दिएपछि देउवा उच्च शिक्षाको लागि २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका उनी त्यहींबाट नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए । त्यस क्रममा देउवा केही पटक पक्राउ पनि परे ।

नेविसंघमा सक्रिय रहने क्रममै उनी विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी पनि भए । पछि विपि कोइरालाले देउवालाई सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर खट्टाए ।

विसं २०४६ मा कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गरेको बेला भने देउवा नेपालमा थिएनन । त्यतिबेला उनी लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहेका थिए । आन्दोलन सफल भएपछि मात्रै उनी नेपाल फर्किएका थिए ।

विसं २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्ने सौभाग्य मिल्यो । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्रीसमेत बने । काँग्रेसबाट शक्तिशाली मन्त्रालयको जिम्मेवारी लिएको र विदेशमा समेत अध्ययन गरेर आएका कारण पश्चिमा शक्तिले उनलाई भावी नेतृत्वका लागि ग्रुमसमेत गर्दै थियो ।

त्यतिबेला उनको राज खान्दानसँग नजिक रहेकी आरजु राणासँग विवाहसमेत भइसकेको थियो । अर्कोतर्फ काँग्रेसभित्र गिरिजाप्रसाद कोइरालाले आफ्नो छुट्टै धार खडा गरेर अघि बढेपछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको साथ सहानुभूति देउवामाथि बढदै गयो ।

त्यही कारण उनले पोखरामा भएको काँग्रेसको महाधिवेशनमा कोइरालालाई चुनौति दिन सभापतिमा उम्मेदवारीसमेत दिए । यद्यपि विजय हासिल भने हुन सकेनन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा प्रहरीबाट यातनासमेत पाएका देउवा पोखरा महाधिवेशनपछि काँग्रेसको संसदीय दलको नेता समेत बन्न सफल भए ।

विसं २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुन सफल भएका देउवा माओवादी समस्याको जन्म हुनुका साथै कोइराला परिवार, विशेषगरी गिरिजाप्रसाद कोइरालाबाट असहयोग र हेपाई सहन बाध्य भए । सोही क्रममा सरकार बढाउने र गिराउने खेल बढेर गयो भने साँसद खरिद बिक्रीका खेल समेत भए ।

माओवादीको नाममा बढदै गएको हिंसात्मक जनयुद्ध नियन्त्रण गर्न राजा र सेनाको असहयोग, अर्को तर्फ विपक्षी एमालेको असहयोग खेप्न देउवा बाध्य भए । गिरिजाप्रसाद कोइरालाले २०५८ असार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पुनः काँग्रेसको संसदीय दलको नेता बनेका देउवालाई संविधानको बाधा अडकाउ धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्ति गरे । यो उनको दोस्रो प्रधानमन्त्री हुने अवसर थियो ।

मुल काँग्रेसबाट विभाजन भएर देउवाले प्रजातान्त्रिक काँग्रेस गठन गरेपछि २०५९ सालमा पुनः प्रधानमन्त्री भए । दुवै पटक ज्ञानेन्द्रले उनलाई असक्षम भन्दै बर्खास्त गरे ।

त्‍यतिबेला माओवादीलाई साथ लिएर काँग्रेसको नेतृत्वमा ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारी भएपछि देउवा पनि उक्त आन्दोलनमा सामेल भए । आन्दोलनको माग अनुसार संसद पुनर्स्थापना भएपछि देउवा मुल काँग्रेसमा सामेल भए ।

विसं २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापति बने । लामो समयपछि कोइरालाहरुको हातबाट काँग्रेसको नेतृत्व गैरकोइरालाको हातमा आयो । विसं २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नं. १ बाट निर्वाचित भएका देउवा २०६४ को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली तथा २०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा–१ र कञ्चनपुर–४ बाट विजयी भए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी नौ वर्ष जेल बनेका प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, ट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।

पहिलो पटक प्रधानमन्त्री भएदेखि चौथो पटक हुनुभन्दा पहिलासम्म धेरै विवादमा परेका र उल्झनहरु झेलेका देउवालाई यो कार्यकाल आफूलाई सच्याएर सफल बनाउने अवसरको रुपमा पनि विश्लेषकहरुले हेरेका छन् । विभिन्न तहका निर्वाचनहरु सम्पन्न गर्ने, संविधान कार्यान्वयन गर्ने, असन्तुष्ट समुदायलाई चित्त बुझाउने, छिमेकी मुलुकहरुसँग सन्तुलन कायम गर्दै जनताको आर्थिक विकासको तीब्र चाहनालाई सम्बोधन गर्ने महत्वपूर्ण जिम्मेजारी देउवाको काँधमा छ ।

Advertisement

Advertisement

Advertisement