एनसेल भन्छ, 'प्रविधि तटस्थतामार्फत डिजिटल नेपाल निर्माणका लागि प्रतिबद्ध छौं', ३० अर्ब लगानी गर्ने

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नौ सय मेगाहर्ज र एक हजार आठसय मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुर्याउन आफू तयार भएको जनाएको छ ।

प्रविधि तटस्थतामार्फत एनसेलले एक करोड ७० लाखभन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याई उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्नेछ । इन्टरनेट अहिले बिजुली–बत्ति र पानी जस्तै मानिसको आधारभुत आवश्यकता भइसकेको छ । यसरी नेपाली नागरिकलाई सेवा गर्ने मौका दिई उनीहरुका लागि बहुप्रतिक्षित सेवा प्रदान गर्ने अवसर दिइएकोमा कम्पनीले आभार व्यक्त गरेको छ ।

एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता हजारभन्दा बढि ग्रामीण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने छ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् ।

यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानीयवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्याउने छ ।

एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्स भन्छन, “हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ ।”

उनले यी लक्ष्य प्राप्तिका लागि आफूहरुले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेका छौ । संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौ ।”

विश्व बैंकको अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई एक दशमलव ३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिई कम्पनीले हाल देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement