आर्थिक रुपान्तरण र समावेशी विकासका लागि लघु, घरेलु तथा साना उद्योगको विकास

Advertisement

काठमाडौं । नेपालको आर्थिक रुपान्तरण र समावेशी विकासका लागि लघु, घरेलु तथा साना उद्योगको विकास जरुरी रहेको साना व्यवसायीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २८औं बार्षिकोत्सवमा बिहीबार भएको कार्यक्रममा उनीहरुले यस क्षेत्रको विकासका लागि नीतिगत प्रष्टता जरुरी रहेको बताए । स्पष्ट नीति नहुँदा साना उद्योगहरु फष्टाउन नसकेको वक्ताहरुको भनाई छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले समयअनुसार लघु, घरेलु तथा साना उद्योगसम्बन्धि नीति नियम अद्यावधिक भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको माध्यम बन्नसक्ने बताए । यस्ता उद्योगमार्फत ठूलो आर्थिक विकास, रोजगारी सिर्जना गर्न सकिने गिरिको विश्वास छ ।

नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण, युवा वैज्ञानिक र अनुसन्धानकर्तामार्फत यस्ता प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान गर्ने र यसलाई उद्योग विकाससँग जोड्नुपर्ने उनको तर्क छ ।

महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण गर्दै मुलुकलाई औद्योकिरणतर्फ उन्मूख गराउन तयार रहेको भन्दै गिरिले महासंघले आफ्नो सञ्जाललाई मुलुकभर विस्तार गरेको, ५८ जिल्लामा महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु क्रियाशील रहेको बताए ।

लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरु गुणस्तरीय र निर्यातयोग्य हुँदाहुँदै पनि सूचना र बजार पहिचानको अभावमा निर्यात हुन नसकिरहेको कार्यक्रममा वक्ताहरुको गुनासो छ । उनीहरुले गुणस्तरीय बस्तुहरुको निर्यात वृद्धि गर्न सार्वजनिक निजी साझेदारी अवधारणाअनुरुप राष्ट्रियस्तरको एउटा निर्यात गृहको स्थापनाका लागि सरकारले आवश्यक स्थान तथा बजेटको व्यवस्था गरिदिनुपर्ने बताए ।

रुग्ण लघु, घरेलु तथा साना उद्योग क्षेत्रको उत्थान गर्न स्पष्ट नीति र कार्यक्रम बनाई कार्यान्वयनमा ल्याइनुपर्ने, देशका कुना कुनामा छरिएर रहेका र सानो पुँजीबाट सञ्चालन हुने यस्ता उद्योगले आफ्नै लगानीमा महँगा विज्ञापन गर्न नसक्ने तथ्यलाई मनन गरी महासंघले औद्योगिक प्रदर्शनीहरु स्थानीयस्तरसम्म बढाउँदै लानुपर्ने, उत्पादित वस्तुको सामूहिक प्रचारप्रसार गराउने कार्य तीब्रता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरी, सल्लाहकारहरु लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिकार, इन्दिरा श्रेष्ठ र महेश अग्रवाल, महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानलगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement