माओवादीमा उर्जा खान साह, सापकोटा, पोखरेलद्धारा अस्वीकार

Advertisement

काठमाडौंः जनार्दन शर्माले एकपछि अर्को विवादास्पद निर्णयहरु गरेर छोडेपछि त्यसको अपजस आफूमाथि आइपर्ने डरले माओवादीका मन्त्रीका प्रत्यासीहरुले उर्जा मन्त्रालय सम्हाल्न अस्वीकार गरेका छन् ।

पहिलो चरणको मन्त्रिमण्डल गठनको दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रभु साहलाई उर्जा मन्त्रालय दिने तयारी गरेका थिए । उनले उर्जामा आफूलाई चाख नभएको बताएपछि विना विभागीय मन्त्री बनाइएको थियो ।

त्यसपछि अग्नी सापकोटा र गिरिराजमणि पोखरेललाई उर्जा मन्त्रालय सम्हाल्न माओवादी बैठकमा प्रस्ताव गरिए पनि दुवैले त्यो बाहेक अरु जिम्मेवारी दिन आग्रह गरेका छन् । उर्जा मन्त्रालय आकर्षक र शक्तिशाली मन्त्रालयको रुपमा रहे पनि पछिल्ला विवादास्पद निर्णयका कारण माओवादीका नेताहरु उक्त मन्त्रालयमा जान हच्किएका हुन ।

बुढीगण्डकी जलाशययुक्त आयोजना विना प्रतिस्पर्धा एक चिनिया विवादास्पद कम्पनीलाई दिने, नुवाकोटको त्रिशुलीमा निर्माण गर्न लागिएको ग्रीडजडित २५ मेगावाटको सौर्य उर्जा परियोजनाको पूरानो ठेक्का सम्झौता तोडेर ६८ करोड बढी लागतमा अर्कोलाई दिने, विना प्रतिस्पर्धा एलइडी बल्ब भारतीय कम्पनीसँग खरिद गर्ने जस्ता विवादास्पद निर्णयका कारण हालै उर्जा मन्त्रालय छोडेर गृह मन्त्रालय सम्हालेका जनार्दन आलोचित र विवादित बनेका कारण अन्य नेताहरु उर्जा लिन डराएका हुन ।

प्रभु साह, अग्नी सापकोटा, गिरिराजमणि पोखरेलले उर्जा खान नमानेपछि जनार्दनले आफूनिकट महेन्द्रबहादुर शाहीलाई यो मन्त्रालय दिन नभए काँग्रेसलाई दिन अध्यक्ष दाहाललाई आग्रह गरेको सोही पार्टीका नेता टोपबहादुर रायमाझीका एक सहयोगीले जानकारी दिए । उनले उर्जामा बदमासी गरेवापत जनार्दनलाई सम्मानस्वरुप गृह मन्त्रालयको जिम्मा दिएको भन्दै व्याङ्ग्यसमेत गरे ।

सुरुमा उर्जा आफैलाई चाहिने भन्दै दाहालले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग अडान कसेका थिए । पछि उर्जा मन्त्रालय कसैले पनि खान पार्टीभित्र तयार नभएपछि त्यसको सट्टा आफूहरुलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा माओवादीले दावी सुरु गरेको छ ।

Advertisement

Advertisement

Advertisement