वाइडबडी जहाज खरिदका लागि १२–१२ अर्ब रुपियाँ ऋण दिन दुईवटा कोष तयार

Advertisement

काठमाडौंः नागरिक लगानी कोषले वाइडबडी एयरबस (ए३३०–२००) खरिद गर्न नेपाल वायुसेवा निगमलाई १२ अर्ब रुपियाँ ऋण दिने प्रतिवद्धता जनाएको छ । कोष र निगमबीच सोमबार सोसम्वन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरे । निगमले आइतबार जहाज कर्मचारी सञ्चय कोषसँग पनि सोही रकम बराबरको ऋण सम्झौता गरेको थियो ।

दुवै कोषले सरकारको जमानतमा निगमलाई जहाज किन्न ऋण दिन तयार भएका हुन । यस्तो ऋणको ब्याजदर नौ प्रतिशत कायम गरिएको छ भने यस्तो ब्याजदर पहिलो व्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।

उडान क्षेत्रको व्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्वि, रोजगारी सिर्जना ,पर्यटन क्षेत्रमा थप विकास हुने आशा कोषले गरेको छ । करिव दुई महिनाअघि निगमले वाइडबडी जहाज किन्न अमेरिकाको एएआर कर्पोरेशनसँग २४ अर्ब रुपियाँको खरिद बिक्री सम्झौता गरेको थियो । त्यसमध्ये केही रकम दुवै कोषबाट लिएर निगमले चाँडै एएआरलाई पठाउने तयारी गरेको छ ।

जहाज किन्न गत माघमा भएको समझदारीअनुसार निगमले बैनावापतको १० करोड रुपियाँ फागुनको पहिलो साता नै पठाइसकेको थियो । ऋण लिने विषयमा सस्तो ब्याजदरमा ऋण दिने भन्दै केही विदेशी कम्पनीको प्रस्ताव आए पनि तीनको विश्वसनीयता र स्रोतको वैधानिकतामा प्रश्न उठेपछि निगमले सरकारी स्वामित्वका दुईवटा कोषसँग नै ऋण लिन प्रक्रिया अघि बढाएको हो ।

एएआरसँग भएको सम्झौताअनुसार दुईमध्ये पहिलो जहाज आउँदो मंसिरसम्म र अर्को फागुनसम्म आइपुग्नेछ । यी जहाजबाट निगमले कोरिया, जापान, अष्ट्रेलिया, दमामको उडान सुरु गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement