‘रोजगारी विश्वशिखर बैठक’मा भाग लिन राष्ट्रपति आज जेनेभा जाने

Advertisement

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारी विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले बैठकलाई असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो ।

श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले भण्डारीसँग भेट्ने कार्यक्रम पनि छ । उनका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement