गैरआवासीय नेपाली संघले काठमाण्डौं महानगरपालिकाको विकासमा सहयोग गर्ने

Advertisement

काठमाण्डौं । गैरआवासीय नेपाली संघ र काठमाण्डौं महानगरपालिकाबीच काठमाडौँलाई कसरि सफा र बस्नलायक शहर बनाउने बिषयमा छलफल भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग छलफल गरेको हो ।

अध्यक्ष घलेले विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुसँग भएको सिप, ज्ञान र स्रोत काठमाण्डौं महानगरपालिकाको विकासमा परिचालन गर्न तयार रहेको जानकारी गराउँदै विश्वका अन्य प्रमुख शहरहरुसँग भाइचाराको सम्बन्ध बिकास गरी त्यस्ता शहरहरुसँग आवश्यक सहकार्य गर्न सकिने सुझाव दिए ।

साथै उनले यस कार्यमा समन्वय गर्न गैरआवासीय नेपालीहरु तयार रहेको बताए ।

अध्यक्ष घलेले यस अवसरमा संघले निर्माण गर्न लागेको लाप्राक नमूना बस्तीको बारेमा जानकारी गराउँदै देशवासीको सुखदुखमा सधै साथ दिन गैरआवासीय नेपालीहरु तयार रहेको वताए । झण्डै २० बर्षपछि देशले स्थानिय नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै स्थानिय जनप्रतिनिधिहरुसँग देशवासीले मात्रै नभई गैरआवासीय नेपालीहरुले समेत ठूलो आशा राखेको बताए ।

नवनिर्वाचित मेयर शाक्यले गैरआवासीय नेपालीहरुबाट महानगरपालिकाले धेरै सिक्न सक्ने बताए । एनआरएनहरुले विदेशमा देखेका र भागेका सुधारका उपाय तथा प्रबिधि नेपालमा लागू गर्न सुझाव तथा सहयोग गर्ने आफुले अपेक्षा गरेको बताए ।

मेयर शाक्यले काठमाण्डौ महानगरपालिकामा देखिएको यातायातको व्यवस्थापनमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दै सार्वजनिक यातायात तथा सवारी साधन पार्किङ्गको लागि भवनहरुको निर्माणमा समेत लगानी गर्न सुझाव दिए ।

उनले अहिलेको अधिकार सम्पन्न महानगरपालिकाको गठन भएको सन्र्दभमा गैरआवासीय नेपालीहरुको लगानी भित्राउन महानगपालिका इच्छुक रहेको र गैरआवासीय नेपालीहरुबाट उपयुक्त लगानीका परियोजनाहरु प्राप्त भएमा आवश्यक कानूनहरु निर्माण गरी सहजिकरण गर्न सकिने बताए ।

Advertisement

Advertisement

Advertisement