एनआरएनए थाइल्याण्डद्धारा झण्डै ३६ लाखको नागरिक छात्रवृत्ति कोषको घोषणा

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले ३५ लाख ८९ हजार ९९९ रुपियाँ बराबरको नागरिक छात्रवृत्ति कोषको घोषणा गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कोषको घोषणा गरेका हुन ।

कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र ढकालले उक्त रकमको चेक मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरी श्रेष्ठले नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरे । यस अक्षय कोषमार्फत आठदेखि १२ कक्षा अध्ययन गर्ने पिछडिएका विद्यार्थीहरुको शिक्षामा निरन्तर सहयोग गरिनेछ ।

सुरुका पाँच बर्षमा भूकम्प प्रभावित विद्यार्थीहरुलाई प्रदान गरिने यो छात्रवृत्ति त्यसपछिका बर्षमा पिछडिएका अन्य बालबालिकालाई प्रदान गरिने छ । यसको व्यवस्थापन गर्ने काम नागरिक अभियान संस्थाले गर्नेछ । यस कोषले प्रत्येक वर्ष ८० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ ।

एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र ढकालले कोषको अहिलेको रकम सुरुवात मात्रै भएको भन्दै यसलाई अझै विस्तार गर्दै लगिने बताए । मन्त्री श्रेष्ठले छात्रवृत्तिले नेपाली विद्यार्थीहरूको शिक्षामा अवसर र प्राविधिक दक्षतामा मद्दत गर्ने बताए ।

एनआरएनए अध्यक्ष शेष घलेले संघका अन्य सदस्यहरुमा थाइल्याण्ड फरक रहेको भन्दै यस संघले सक्रिय रहेर नयाँ र सिर्जनात्मक कामहरु गर्दै आएको अनुभव सुनाए ।

nrna_thailand४० जना विदेशी इन्जिनियर स्वयमसेवकहरु पुनर्निर्माणका लागि लाप्राक जाँदै
एनआरएनए थाइल्याण्डकै पहलमा ४० जना विदेशी इन्जिनियर स्वयमसेवकहरु बिहीबार लाप्राक जाने भएका छन् । त्यसका लागि प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघ (आइएस्टे)मार्फत उनीहरु झण्डै एक महिना लाप्राकमा एनआएनलेले बनाउने भनेका भूकम्प पीडितका ५७३ नमुना घरहरु निर्माण गर्न सक्रिय रहनेछन् ।

आइएस्टे विगत ७० बर्षदेखि अन्तर्राष्ट्रियरुपमा गैरनाफामुलक ढंगले ८८ भन्दा बढी मुलुकमा क्रियाशील छ । यसले विज्ञान, इन्जिनियरिङ, प्रविधि र एप्लाइड आर्टस् विषयमा कोर्षको समापनमा ट्रेनिसिप छात्रवृत्ति प्रदान गर्छ । जसमा नेपाललगायत अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, फिनल्याण्ड, ग्रीस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, टर्की र बेलायतका स्वयमसेवक छन् ।

कार्यक्रममा नेपालका लागि थाइ राजदूत भाकवत तान्सकुल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँ, ट्रेकिङ एजेन्सी महासंघ (टान)का अध्यक्षलगायतले बोलेका थिए । सोही कार्यक्रममा टानले एनआरएनए थाइल्याण्डका उपाध्यक्ष आशाजीत अवालेलाई सदभावना राजदूत घोषणासमेत गरेको थियो ।

 

Advertisement

Advertisement

Advertisement