एएफसी यु–२३ च्याम्पियनसिप टोलीलाई प्रशिक्षण सुरु

Advertisement

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएइ)मा हुने एएफसी २३ वर्षमुनि ( यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए ।

उनका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएइसँग खेल्नेछ । त्यसैगरी साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।  छनोट चरणका सम्पूर्ण खेल युएइस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रङ्गशालामा हुनेछ । यसअघि सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो ।

त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन । समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् । चालिस राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप 

आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिए । च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १४ र महिलातर्फ १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष/महिलाको र समूहगत कातामा पनि खेल हुनेछ । उक्त च्याम्पियनसिपका लागि नेपाल र अन्य राष्ट्रबाट दुई दुई सय गरी ४०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement