पूर्वाधार विकासका कुल ग्रार्हस्थ उत्पादनको १० प्रतिशत रकम विनियोजन गर्न परिसंघको माग

Advertisement

काठमाडौंः नेपाल उद्योग परिसंघ पूर्वाधार विकासमा कुल ग्रार्हस्थ उत्पादनको १० प्रतिशत खर्च गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी पूर्वाधार विकासका लागि बजेटमा रकम अपर्याप्त विनियोजन गरिएकाले बढाउन माग गरेको हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले विश्व अर्थतन्त्रमा संकुचन आए पनि नेपाली अर्थतन्त्रको वृद्धिले आफूहरुलाई आशावादी बनाएको भन्दै सरकारका लागि समेत यो राम्रो अवसर भएको बताए ।

उनले भने, “सरकारद्वारा प्रारम्भ गरिएका राष्ट्रिय गौरवका आयोजनाहरु– पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिनुका साथै पूर्वाधार निर्माणमा कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नुपर्ने आवश्यकता रहेको छ ।”

ठोसरुपमा औद्योगिक विकासका लागि इण्डष्ट्रियल क्लसटरको विकास गर्दै धर्मराउँदो अवस्थामा रहेको निजी क्षेत्रलाई सबलीकरण गर्न नीतिगत सुधार गर्नुपर्ने शर्माको भनाई छ ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा गतिशीलता रहेकाले सरकार निजी क्षेत्रलाई समेट्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने दिशामा प्रयासरत रहेको बताए । उनले उदार आर्थिक नीति र लगानी वृद्धिमार्फत दीगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न सरकार लागिपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement