सात हजार मेगावाट क्षमताभन्दा बढि विद्युत आयोजनाको अध्ययन जारीः विद्युत विकास विभाग

Advertisement

काठमाडौंः सरकारले सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । आउँदो सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सरकारले उक्त क्षमताका आयोजनाको अध्ययन अघि बढाएको हो ।

विद्युत् विकास विभागका अनुसार कुल ५५ वटा आयोजनाको हाल अध्ययन भइरहेको छ । ती आयोजनाको क्षमता सात हजार १३६ मेगावाट रहेको छ । सरकारको बास्केट फन्डमा रहेका आयोजनालाई नै विशेष ध्यानमा राखेर अध्ययन गरिएको विभागको भनाई छ ।

विभागले प्राथमिकताका साथ अध्ययन गरिरहेको आयोजनामा ४४० मेगावाट क्षमताको भेरी एक, अरुण चौथो ३०० मेगावाट, कर्णाली सात ३३० मेगावाट, खिम्ती शिवालय २०० मेगावाट, किमाथाङका अरुण ४३४ मेगावाट, तल्लो अरुण ४०० मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४१० मेगावाट, शारदा बबई ९३ मेगावाट, माथिल्लो झिमरुक १०० मेगावाट, सुनकोसी दोस्रो एक हजार ११० मेगावाट, सुनकोसी तेस्रो ५३६ मेगावाट ठूला आयोजनाका रुपमा रहेका छन् ।

सरकारको बास्केट फन्डमा अझै १४९ आयोजना बाँकी छन् । ती आयोजनाको क्षमता चार हजार ८०० मेगावाट रहेको छ । विभागका सूचना अधिकारी बाबुराज अधिकारीका अनुसार धेरैजसो आयोजनाको पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ भने केही आयोजनाको इन्जिनियरिङ अध्ययन भएको छ ।

सरकारले पछिल्लो पटक जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी तथा नेपाल विद्युत् प्राधिकरणमार्फत पनि अध्ययन गराइरहेको छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले विभिन्न आठ जलविद्युत् आयोजनाको कम्पनी नै स्थापना गरेर अध्ययन अगाडि बढाएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताए ।

यस्तै निजी क्षेत्रले हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ भने करिब पाँच हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन भइरहेको स्वतन्त्र उर्जा उत्पादक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाई छ ।

Advertisement

Advertisement

Advertisement