दोस्रो चरणको निर्वाचनका लागि तयारी पूरा, मौन अवधि सुरु, बर्खाको लागि विशेष व्यवस्था

Advertisement

काठमाडौंः असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा पर्ने ३३४ नगर तथा गाउँपालिकाका जनप्रतिनिधि चयन हुन लागेको हो ।

पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशमा गएको वैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणमा एक महानगर, सात उपमहानगर, १११ नगर र २१५ गाउँपालिकाको निर्वाचन हुँदैछ । यसअघि पहिलो चरणमा २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । प्रदेश नम्बर २ का आठ जिल्लाको स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन तोकिएको छ ।

दोस्रो चरणका लागि शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् । मतपेटिकासहित निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका र कर्मचारी तथा सुरक्षाकर्मीसमेत ती केन्द्रमा परिचालित भइसकेको आयोगले जनाएको छ । ती केन्द्रमा मतदातालाई परिचय वितरणको काम पनि करिव सकिएको र मतदातालाई नमुना मतदान अभ्याससमेत गराउने काम भइसकेको छ ।

पहिलो चरणमा जस्तो धेरै मत बदर नहोस भनेर आयोगले सावधानी अपनाएको र मतदाता शिक्षालाई जोड दिएको यादवले बताएका छन् । मतदानको अघिल्लो दिनसम्म मतदाता शिक्षाका कार्यक्रम जारी रहने उनले बताए । मतपत्र ठूलो हुँदा मतदाता अलमलमा परी पहिलो चरणमा ११ दशमलव १८ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा मतदान गर्नसक्ने ६४ लाख ३२ हजार ७६५ मतदाता आयोगको सूचीमा छन् । पैंतिस जिल्लाका आठ हजार ३६४ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी आइतबार पुगिसकेका छन् । उनीहरुले निर्वाचन आचारसंहिता पालना भएनभएको समेत अनुगमन गर्ने आयोगले जनाएको छ ।

बर्खाको समय भएकाले मतदान केन्द्र र मतपत्रको सुरक्षाका लागि आवश्यक सामग्री समेत पठाउँदै बर्खाको ख्याल गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको छ । मतपेटिका छोप्न प्लास्टिक र खुला स्थानमा मतदान केन्द्र रहेका ठाउँमा टेन्टको व्यवस्था गरिनेछ ।

मधेसको आन्दोलनरत पार्टी राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचनमा अवरोध नगर्ने जनाइसके पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीबाट कतैकतै अवरोध हुन सक्ने अनुमान गरिएको छ । अवरोध हुनसक्ने स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको आयोगले जनाएको छ ।

निर्वाचन कानुनअनुसार सोमबारबाट निर्वाचन हुने क्षेत्रमा चुनावी प्रचारप्रसारमा समेत रोक लगाइएको छ । यस मौन अवधिमा राजनीतिक दल, उम्मेदवार वा समर्थकले कुनै प्रकारको चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । निर्वाचन हुने दिनभन्दा ४८ घण्टापूर्वबाट मौन अवधि सुरु हुन्छ ।

Advertisement

Advertisement

Advertisement