मतदान ७०.५ प्रतिशत, पहिलो चरणमा भन्दा न्यून, आयोग भन्छः उत्साहजनक

Advertisement

काठमाडौंः दोस्रो चरणको निर्वाचनमा पहिलो चरणमा भन्दा न्यून मत खसेको छ । पहिलो चरणमा ७३ प्रतिशत मत खसेकोमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यद्यपि यो दर उत्साहजनक हो ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा पर्ने ३३४ नगर तथा गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि बुधबार भएको निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको भन्दै निर्वाचन आयोगले यसलाई उत्साहजनक भनेको छ ।

मतदान सकिएलगत्तै आयोग मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानबारे जानकारी गराए ।

उनका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ भने बझाङको जयपृथ्वी नगरपालिका– २ स्थित पाण्डु उच्च मावि मतदान केन्द्रमाबाहेक सबै ठाउँमा मतदान भएको छ ।

वारेसमार्फत मत दिने नदिने विषयमा कांग्रेस–एमालेबीच विवाद हुँदा मतदान रोकिएको आयोगको भनाई छ। सोलुखुम्बुको नेचासल्यानस्थित तिङ्लामा एक मत पनि नखसेको र नवलपरासीको सरावलस्थित एक मतदान केन्द्रमा दुई मतमात्रै खसे छ ।

यद्यपि यी ठाउँमा पुनः निर्वाचन नहुने आयोगले स्पष्ट पारेको छ । यी ठाउँमा कर्मचारीहरु समयमै पुगेर प्रक्रिया अघि बढेको तर मतदाताले मत नदिएको भन्दै पुनः मतदान गर्न नसकिने आयोगले जनाएको छ । प्रमुख आयुक्त यादवले वर्षाका कारण केही केन्द्रमा ढिला मतदान भए पनि पछि उत्साहजनक मतदान भएको बताए ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि राजनीतिक दलहरुसँग परामर्शपछि मतगणना सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन परिणामप्रति विश्वास गर्न राजनीतिक दल उम्मेदवारप्रति आग्रह गरेका छन् ।

उनले संयमता अपनाउन र अलोकतान्त्रिक कार्य नगर्न सार्वजनिक अपिल गरे । यादवले भरतपुर महानगरपालिकाको वडा नं. १९ को मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि सिर्जित परिस्थितिलाई संकेत गर्दै उक्त कुरा भनेका हुन ।

Advertisement

Advertisement

Advertisement